भ्रष्टाचार भएकै छैन, बेकारका हल्ला नगरौँ: प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचार हुँदै नभएको जिकिर गरेका छन् । उनले सामाजिक सन्जाल तथा मिडियामा आएका विषयहरुमाथि पनि आफ्नो सम्बोधनमा प्रसंग उठाएका छन् ।
उनले कुनै स्वार्थमा लागेर मिडियाले अहिले अफवाह फैलाइरहेको आरोप पनि लगाएका छन् ।
तर, सरकारले यो महामारीमा कुनै भ्रष्टाचार नगरेको उनले बताएका छन् । ‘हामी भ्रष्टाचारलाई सोच्न सक्दैनौँ,’ उनले भनेका छन्, ‘यसबीच केही भएको पनि छैन ।’
यहीबीच उनले यो महामारीबीचमा सन्चारमाध्यमले खेलेको भूमिकालाई पनि धन्यवाद दिएका छन् । उनले अन्य दलका नेतालाई पनि धन्यवाद दिएका छन् ।
उनले सन्चारमाध्यमलाई अझ सहयोगी बन्न पनि अनुरोध गरेका छन् ।
सम्बोधनमा भ्रष्टाचारबारे के भने ?
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ ।
मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।
भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।