ओलीलाई भेट्न देउवा र प्रचण्ड बालकोट जाने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

ओलीलाई भेट्न देउवा र प्रचण्ड बालकोट जाने



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा ललितपुरको हिमालय होटलमा सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले एमालेले निरन्तर संसद अवरोध गरिरहे एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको प्रचण्डले बताए ।

सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने, ‘ओली सर्वदलीय बैठकमा नआए हामी बालकोट जाऔँ भनेर देउवालाई भनेको छु । उहाँले महाधिवेशनपछि भन्नुभएको थियो । आवश्यक परे जान्छौं ।’

कांग्रेसको १४ औं महाधिवेशन शुरू हुनुअघि नै प्रचण्डले देउवालाई ओलीलाई भेट्न बालकोट नै जाने प्रस्ताव गरेको बताएका हुन् ।

एमालेले निरन्तर रूपमा संसद अवरोध गरिरहेको छ । संसदको गतिरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटक सर्वदलीय बैठक बोलाएका थिए । तर, एमालेले भने दुवै बैठक बहिस्कार गरेको थियो ।

त्यसअघि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।

एमालेले आफूले कारवाही गरेका सांसद संसद बैठकमा रहँदासम्म संसद चल्न नदिने बताउँदै आएको छ । नभए सभामुख सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने एमालेको माग छ ।