प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने: भविष्यमा फेरी सँगै काम गरौँला
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषद् बैठकलाई भिन्दै शैलीले सम्बोधन गरेका छन् । उनले बुधबार मन्त्रीहरू परिवर्तन गर्ने छनक दिँदै उनीहरूप्रति आभार प्रकट गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्ने भन्दै कुनैपनि बाहिरि कार्यक्रममा सहभागी नहुन र अन्य कार्यक्रम आयोजना नगर्न निर्देशन दिएका छन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि केहि फरक काम गर्न लागेको शैलीमा कुरा गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले भविष्यमा चाल्ने कदममा साथ् दिन आग्रह गर्दै अहिलेसम्मको यात्राको लागि आभारी भएको बताएका थिए । तर उनले मन्त्रीमण्डल परिवर्तन गर्ने वा सरकार परिवर्तन गर्ने भन्ने कुरा भने बताएका छैनन् ।
एक मन्त्रीका अनुसार बैठकमा ओलीले मन्त्रीहरूको पुरै सेट चेन्ज गर्नेबारे छनक दिएको जनाएका छन् । उनले भने ‘यत्ति बुझ्नुस बुधबार केहि ब्रेकथ्रू हुँदैछ बाँकी नबोल्न निर्देशन छ ।’
बुधबारै बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।