एमालेभित्र सहमति- निर्वाचनपछि ओली प्रधानमन्त्री, भण्डारी पार्टी अध्यक्ष
काठमाडौं- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली जति शक्तिशाली छन् त्यति नै कमजोर हुँदै गएका छन् । निर्वाचन नजिक आउँदै गर्दा ओलीप्रति असन्तुष्टि राख्ने नेताहरूको संख्या बढिरहेको छ ।
एमालेको महाधिवेशनमा अस्वभाविक चासो राखेको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी अहिले पनि एमालेमा उत्तिकै प्रभाव राख्छिन । एमालेमा राष्ट्रपति भण्डारीप्रति सदासयता राख्ने र प्रभावित हुने नेताहरूको संख्या उल्लेख्य छ ।
कतिपय नेताहरूले त अहिले पनि एमाले राष्ट्रपति कार्यलयबाट चलेको बताउँछन् । महाधिवेशनदेखि नै भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि एमालेमा स्थापित हुने आधार तयार गरिसकेको बताइन्छ ।
भण्डारीले आफ्नो कार्यकाल सकिएपछि पार्टीको नेतृत्व गर्नेगरी तयारी गरेको एमालेभित्रै चलेको बहसले पनि देखाउँछ । उनको कार्यकाल सकिनै लाग्दा एमालेका नेताहरूले यसबारे बोल्न थालेका छन् । कतिपय नेताहरूले आफ्नो धारणा सार्वजनिक अरिसकेका छन् ।
अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै आफू अध्यक्ष बन्ने र राष्ट्रपतिको कार्यकाल सकिएपछि पद भण्डारीलाई हस्तान्तरण गर्ने भन्ने हल्ला पनि नचलेको होइन । यता उनको कार्यकाल सकिनै लाग्दा राजनितिक वृत्तमा देखिएका कतिपय घटनाक्रमले पनि यो हल्लामाथि बल पुर्याएको देखिन्छ ।
नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले खेलेको भुमिका पनि यसै विषयसँग सम्बन्धित भएको कतिपयको आंकलन छ ।
त्यतिमात्र होइन राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भएको भद्र सहमति अनुसार ओलीलाई भाबी प्रधानमन्त्रीको लागि तयार गरेर भण्डारीले पार्टीको नेतृत्व गर्ने सम्मको चर्चा छ ।
यस्तैमा पार्टीका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले यसबारे फायर खोलेका छन् । उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि सिधै एमालेको राजनितिको नेतृत्व गर्ने आसयको धारणा राखेका छन् ।
उनले भनेका छन्, ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन् । मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’
एमालेमा बाँस्कोटाले जसरी मुख नखोले पनि भित्रभित्रै धेरै नेता विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा देखिएका छन् । बाँस्कोटाले शान्त तलाउमा ढुंगा हानेर माहौल बुझ्न खोजेको अर्थमा लिइएको छ ।
बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भनने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उनीहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको बताएका छन् ।