धर्मशाला बतासले हत्याउँदा ओली नै थिए पर्यटनमन्त्री - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धर्मशाला बतासले हत्याउँदा ओली नै थिए पर्यटनमन्त्री



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहलाई नक्कली ज्वाईं भनेपनि उनको कनेक्सन भने खुल्दै गएको छ । ओली प्रधानमन्त्री भएकै बेला देशका धार्मिक र पर्यटकीय स्थलहरूमा बतासले कब्जा जमाएको देखिएको छ ।

अनेक ऐतिहासिक स्थानमा कब्जा जमाएको बतासले पशुपति क्षेत्रको नेपाल–भारत मैत्री धर्मशालामा पनि तत्कालिन प्रधानमन्त्री ओलीसँगकै सेटिङमा होटल सञ्चालन गरेको खुलेको छ । होटल संचालन गर्नेगरी गरिएको ठेक्का सम्झौतामा मिलेमतो भएको खुलेसँगै ओलीसँगकै सेटिङ देखिएको छ।

हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषले गठन गरेको छानबिन समितिले बतास समूहको होटल आनन्द प्रालिलाई लिजमा दिँदा मिलेमतो भएको भन्दै सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।

रोचक त के छ भने यो सम्झौता गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केपी शर्मा ओलीले नै चलाएका थिए । ओलीले मन्त्रालय सम्हालेको बेला बताससँग गैरकानुनी सम्झौता भएको भेटिएपछि यो प्रकरणमा ओली समेत तानिने भएका छन् ।

ओली प्रधानमन्त्री भएकै बेला यति काण्ड, ओम्नी काण्ड, बास्कोटा काण्डलगायतका दर्जनौँ मच्चिएका थिए । यति, ओम्नी लगायतका व्यवसायिक घरानालाई ढाक्दै आएका थिए । उनी ओली प्रधानमन्त्री भएको बेला बतास समूहसँग पनि साँठगाँठ देखिएको छ ।

भारत सरकारको ३४ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको धर्मशालालाई लिजमा लगाउन भनेर पशुपति क्षेत्र विकास कोषले कार्यविधि नै बनाएको थियो । तर, कार्यविधि पारित नै नभइ २०७६ वैशाख ३० मा पशुपति क्षेत्र विकास कोषले बतास समूहको होटल आनन्द प्रालिलाई भाडामा दिएको थियो।

सोमबार छानविन प्रतिवेदनका मुख्य अंश सार्वजनिक गर्दै समितिले यो सम्झौता भंग गर्न सिफारिस गरेको छ। भारत सरकारले निर्माण गरेको धर्मशाला २०७५ भदौमा पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको थियो। धर्मशाला बनेर हस्तान्तरण भएदेखि नै कोषले भाडामा लगाउन चलखेल भैरहेको थियो।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको निर्देशनमा भाडामा लगाउन कार्यविधि बनाइएपनि त्यसलाई पारित भने गरिएको थिएन । तत्कालीन समयमा कोष परिषदबाट कार्यविधि पास पनि हुने अवस्था थियो। तर, मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भयो।

अधिकारीको निधनपछि ५ महिनासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिए। ओलीले मन्त्रालयको जिम्मेवारी सम्हालेको अवधिमा परिषदको बैठकमा लिजआउट कार्यविधि स्वीकृत गर्ने अजेन्डा नै प्रवेश भएन।

तर, कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले त्यहीबीचमा बतास समूहलाई धर्मशाला भाडामा दिने पक्रिया अगाडि बढाएका थिए। ओलीकै निर्देशनमा धर्मशाला भाडामा दिइएको आशंका पनि कोषमा उठ्ने गरेको एक सदस्यले बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीसँग रहेकै बेला २०७६ वैशाख ३० मा बतास समूहको आनन्द होटल प्रालिसँग पशुपति धर्मशाला लिजआउटसम्बन्धी दीर्घकालीन बहाल करार सम्झौता भयो।

उक्त सम्झौतामा कोषका सदस्य सचिव ढकालले नै हस्ताक्षर गरेका थिए। २०७६ साउन १५ गते योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेपछि मात्र ओली यो मन्त्रालयको जिम्मेवारीबाट अलग भएका थिए।

पशुपति क्षेत्र विकास कोषले २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन भनेर सूचना प्रकाशन गरेको थियो। कोषले प्रकाशन गरेको सूचनाअनुसार बतास समूहको होटल आनन्दसहित ४ वटा प्रस्ताव परेको थियो।

तर, बोलपत्र कागजातमा राखिएको एउटा शर्तलाई देखाउँदै धर्मशाला बतास समूहको होटल आनन्दलाई दिइयो। त्यो शर्त थियो– धर्मशाला भाडामा लिन चाहने कम्पनीले विगत वर्षहरुमा दान, दातव्य, सामाजिक कार्यमा तीन करोड खर्च गरेको हुनुपर्ने।

धर्मशाला भाडामा लिन प्रस्ताव दिने अन्य ३ कम्पनीले बतास समूहले कबोल गरेकोभन्दा महङ्गो रकम (मासिक भाडा) दिने भनेर कबोल गरेका थिए। तर, दान, दातव्यमा ३ करोड खर्च गरेको नदेखिएको भन्दै अन्य प्रस्तावलाई लत्याएर बतास समूहलाई धर्मशाला भाडामा दिइयो।

‘गैरकानुनी’ प्रक्रियाबाट भएको सम्झौताअनुसार धर्मशाला पाएपछि बतास समूहले आफूखुसी संरचना निर्माण र प्रयोग गर्न थाल्यो। बतास समूहले धर्मशालामा आफ्नो कर्पोरेट अफिस मात्रै चलाएन, म्यानपावर, ट्राभल कम्पनी, लेखापढीको कार्यालय, पुराना गाडीको शो रुम र रेष्टुँरासमेत सञ्चालन गर्न थाल्यो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले भाडामा लगाउँदा नै मिलेमतो भएको निष्कर्ष निकालेको छ।