प्रधानमन्त्रीले बाबुरामको डिग्रीलाई 'भुँडी फुटेको भ्यागुता'सँग दाँजेपछि... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीले बाबुरामको डिग्रीलाई ‘भुँडी फुटेको भ्यागुता’सँग दाँजेपछि…



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् ।

“पीएचडी, पीएचडी भनेर प्रचार गरिन्छ । देशमा अरूले पनि पीएचडी गरेका छन् । डिग्रीले क्रान्ति गर्दैन । दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ,” उनको कटाक्ष थियो ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पूर्वमन्त्री कल्पना धमला, देवेन्द्र पराजुलीलगायतलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै थिए । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी गठन भएपछि धमला, पराजुलीलगायत नेताहरु एकताप्रति असन्तुष्ट थिए । उनीहरु नै नेकपामा प्रवेश गरेका हुन् ।

उनले डाक्टरेट उपाधिलाई फुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे । “कुनै समय एउटा पोखरीमा भ्यागुतो थियो । उसले एकदिन माछा देखेछ । आमालाई दौडँदै सुनाउन पुगेछ । आमाले भनिछे– कत्रो थियो माछा ? उसले फुँडी फुलाउँदै देखाउन थालेछ । जति भुँडी फुलाउँदा पनि माछाको आकारमा पुगेन, अन्तिममा भुँडी फुटेर मर्यो,” उनले उखान पस्किए ।

मूल विषयमा अल्मल्याउन अनेक सङ्कथन निर्माण हुनेतिर पनि उनले सचेत गराए । “भैँसीले कति दूध दिन्छ भनेर सोध्यो, हेर्नुहोस् न सिङ कति राम्रो छ भनेर सिङतिर देखाउँछन् । अहिले त्यसैगरी अल्मल्याउन खोजिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो ।