भट्टराईको काउन्टर- हिटलरले पनि ओलीले जस्तै ‘राष्ट्रवाद’को खोल ओढेर उत्पात मच्चाएका थिए - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भट्टराईको काउन्टर- हिटलरले पनि ओलीले जस्तै ‘राष्ट्रवाद’को खोल ओढेर उत्पात मच्चाएका थिए



नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार दार्चुलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको भाषणप्रति टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएको बताएका हुन्।

उनले चुनावी स्वार्थका लागि उचाल्ने राष्ट्रवादभित्र रहश्य लुकेको बताए। उनले ट्विटरमा लेखेका छन्, ‘ देशको भौालिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ। यदि कसैले चुनावी स्वार्थका लागि त्यसलाई उचाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिसौँ।’

ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका थिए। चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, ‘हामीले नक्सा मात्र हाेइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि फिर्ता ल्याउँछौँ। राष्ट्रियताको रक्षा, भौगोलिक रक्षा गर्ने कुरामा एमाले ग्यारेन्टी गर्छ। हामी अरूको भूमि एक इन्च पनि मिच्दैनौँ, मिचिन पनि दिदैँनौँ।’