प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको गृहजिल्ला बजेटमा मालामाल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको गृहजिल्ला बजेटमा मालामाल



काठमाडौं- सरकारले आर्थिकक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । बजेटमा निकै लोकप्रिय कार्यक्रमहरू पनि घोषणा गरिएका छन् ।

संसद विघटन भएकाले अध्यादेशमार्फत बजेट घोषणा गरिएको थियो । अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटमा बजेटमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलको गृहजिल्लालाई अत्यन्त मायाँ गरिएको छ ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा कैयौँ योजना

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गत विकास निर्माणका दृष्टिले पछाडि परेका गौरादह, गौरीगन्ज र कमल गाउँपालिका बजेटमा समेटिन सकेन । कमलमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रियस्तरको रंगशालासमेत दमक सारिएको छ ।

बजेटमा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले शुक्रबार मात्र कमल गाउँपालिकास्थित विवादले रोकिएको आदिवासी रंगशाला निर्माणाधीन स्थलमा बनाउने घोषणा गरेका थिए । तर, शनिबार प्रस्तुत बजेटमा त्यहाँबाट सारेर दमकमा योजना पारिएको छ ।

दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यस्तै, दमकमा बसपार्कसहितको सिटी पार्कका लागि पनि बजेट विनियोजन गरिएको छ । सरकारले आठ ठूला सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम घोषणा गर्दा एउटा सहर दमकलाई रोजिएको छ ।

यस्तै, दमकमा आगामी दुई वर्षभित्र औधोगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख छ । औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालनमा निजी क्षेत्रको भूमिका र सहभागिता बढाउँदै लगिने र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने बजेटमा उल्लेख छ ।

बिर्तामोड–भद्रपुरलगायत देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने सरकारले घोषणा गरेको छ । बिर्तामोड–चन्द्रगढीलगायत नगरपालिकालाई मेगा सिटीमा विकास गरिने बजेटमा उल्लेख छ ।

भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न जनताको तटबन्धअन्तर्गत बजेट विनियोजन गरिएको छ । भद्रपुर नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जन पार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना परेका छन् । भारतको पश्चिम बंगालदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि बजेट विनियोजन गरिएको छ भने गौरीगन्ज गाउँपालिकामा दिगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भएको छ ।

अर्थमन्त्री पौडेलको गृहक्षेत्रमा ब्यापक कार्यक्रम

नयाँ बजेटमा अर्थमन्त्री पौडेलको गृहक्षेत्र पनि भाग्यमानी देखिएको छ । यो क्षेत्रका धेरैजसो आयोजना बजेटमा समेटिएका छन् । निकै महत्वाकांक्षी योजनाका रूपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्रवेश पाएको छ । बजेटमा कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ ।

आयोजना कार्यान्वयनको ढाँचा निर्धारण र स्रोत व्यवस्थापनको काम सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने बजेटमा उल्लेख छ । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको डिपिआर आउँदो वर्ष पूरा गरी काम सुरु गरिने बजेटमा उल्लेख छ । कालीगण्डकीको पानी सुरुङमार्गबाट तिनाउ नदीमा ल्याई रुपन्देही नवलपरासी र कपिलवस्तुमा सिँचाइ गर्ने लक्ष्य छ ।

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र अन्य भौतिक पूर्वाधार निर्माण गर्न तीन अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा लुम्बिनी गुरुयोजना दुई वर्षमा सक्ने उल्लेख छ । यस्तै, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम क्षेत्र समेटी बृहत्तर लुम्बिनी विकास योजनाका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भैरहवामा निर्माण हुन नसकेको एकीकृत भन्सारचौकी निर्माणको काम यथाशीघ्र सुरु गरिने भएको छ । ट्रक पार्किङ क्षेत्र नहुँदा भारतीय क्षेत्रको सडकमा हप्तौँ गाडी पार्किङ गर्नुपर्दा व्यवसायीले बढी भाडा तिर्नुपरेको गुनासो गर्दै आएका छन् । त्यसलाई सम्बोधन गर्न बेलहियामा दुई हजार गाडी पार्किङ गर्न मिल्ने ट्रक पार्किङ यार्ड निर्माण गर्ने बजेटमा उल्लेख छ ।

भैरहवामा बन्दै गरेको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन भएको छ । भैरहवा सहरको विकास, विस्तार, ढल निकास र पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भएको छ । बुटवल–भैरहवालाई मेघासिटीका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ । यस्तै, बुटवलमा विद्युत् तार भूमिगत गर्ने बजेटमा उल्लेख छ ।

बन्द उद्योगहरूमध्ये रुपन्देहीको बुटवलमा रहेको धागो कारखाना सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गर्न आह्वान गर्ने बजेटमा छ । बुटवल–भैरहवा लुम्बिनीस्तरीय ठूला विद्युतीय बस सञ्चालन गर्नेलाई सहुलियत दिने, बुटवल मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव अगाडि बढाउने पनि बजेटमा उल्लेख छ । रुपन्देही मोतीपुर औद्योगिक क्षेत्र दुई वर्षभित्रमा सञ्चालन गर्ने, कृिषउपज संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गर्न रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषिउपज थोकबजार निर्माण गरिने बजेटमा छ ।