कोलम्बसले कसरी अमेरिका पत्ता लगाए, चाँगु नारायणले हेरिरहेका छन् - प्र.म.ओली - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कोलम्बसले कसरी अमेरिका पत्ता लगाए, चाँगु नारायणले हेरिरहेका छन् – प्र.म.ओली



काठमाडौँ – 

काठमाडौँको दरबारमार्गस्थित एक होटलमा आज श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘जति बेरोजगारीको चर्चा छ। मेरो विचारमा वास्तविक बेरोजगारी होइन। हामीसँग जमिन छ। जमिन बाँझै छ। तर मान्छे बेरोजगार छन्।’

कृषिको आधुनिकीकरण र औद्योगिकरणतर्फ कसैको ध्यान नगएको ओलीले बताए। पुरानै शैलीमा निर्भर रहेकाले पनि बेरोजगारी देखिएको उनको जिकिर थियो।

उनले भने ‘नेपाल युवा जनसङ्ख्या भएको देश। श्रम गर्न नहिच्कचाउने। श्रम गर्न रुचि राख्‍नेहरू जनताको देश,’ ओलीले थपे, ‘श्रम गर्न रुचि राख्‍ने र इमान्दारीका साथ श्रम गर्ने भएकाले नेपालीहरू वैदेशिक रोजगारदाताका रुपमा छनोट भएका छन्। तर फेरि पनि बेरोजगार छन्।’

देशको विकास गर्न रोजगारीका अवसर सिर्जना गर्नुपर्ने कुरा ओलीले बताए। सम्मानजनक काम र न्यूनतम पारिश्रमिकको व्यवस्था गर्दामात्र देशभित्र रोजगार सिर्जना हुन सक्ने उनको भनाई थियो।

नेपाली कलासंस्कृतिका विषयमा प्रधानमन्त्री ओलीले भने, ‘विश्वका सबभन्दा पुरानो देव प्रतिमा खोज्नुपरे यहाँ आउनुपर्छ। चाँगुनारायण १८ सय वर्षदेखि डाँडामा उभिएर सभ्यताको उत्पति र विकास, पेरिस कसरी पैदा भयो। कसरी उठ्यो? चाँगुनारायणले हेरिरहेको छ। लण्डन कसरी उदायो? कोलम्बसले कसरी अमेरिका पत्ता लगाए? चाँगुनारायण मुस्काराएर हेरिरहेको छ। त्यसकारण यो सानो कुरा हैन यो हाम्रो सम्पदा हो, यो हाम्रो सम्पत्ति हो।’

बेरोजगारी र गरिबी भावी पुस्तालाई हस्तान्तरण गर्न गरी राख्‍नु नहुने उनको भनाइ थियो। ‘अब हामीले भावी पुस्तालाई यही गरिबीको सामना गर्ने अवस्था हस्तान्तरण गर्ने होइन। बेरोजगारी हस्तान्तरण गर्ने हैन। मेरो कार्यकाल टुङ्गिदा यसस्थितिमा अनेकतम सकारात्मक परिवर्तन ल्याउँछु।’

आफ्नो राम्रो कामको चर्चा नगर्दै पनि हुने भन्दै ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ। च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ।’