ओलीले भने- गुन्डागर्दी र बुथ क्याप्चर गरेर गठबन्धनले एमालेलाई हरायो - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

ओलीले भने- गुन्डागर्दी र बुथ क्याप्चर गरेर गठबन्धनले एमालेलाई हरायो



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला आएका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्।

‘मतदानका क्रममा हेलिकोप्टरबाट गुन्डा ओसारेर आतङ्क मच्चाउने, तरबार लिएर गेटमा बस्ने कुरा चिन्ताको विषय बनेको छ,’ ओलीले भने, ‘सत्ता प्रायोजित गुन्डागर्दी, बुथ क्याप्चर, हिंसाजस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो।’

लोकतन्त्रका निम्ति यी कुराहरू निक्कै चुनौतीपूर्ण भएको उनले बताए। ‘अभिमतले के परिणाम दियो त्यो आफ्नो ठाउँमा छ। जसलाई बलजफ्ती हराइएको छ वा हराउन खोजिएको छ। ‘त्यसप्रति मेरो असहमति छ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको प्रसङ्गमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘यो कुनै ठुलो कुरा होइन, त्यो मामुली कुरा हो।’ ‘धेरै उदय भयो भनेर जस्तो प्रचारप्रसार गर्‍यो, वास्तवमा त्यो मिडियाको कृपा हो,’ उनले थपे।

यता भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन दमकतर्फ प्रस्थान भइसकेका छन्।