लगातार आचारसंहिता उल्लंघन गर्ने ओलीलाई आयोगले किन गर्दैन कारबाही ? - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

लगातार आचारसंहिता उल्लंघन गर्ने ओलीलाई आयोगले किन गर्दैन कारबाही ?



काठमाडौं- निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै सार्वजनिक भाषण गर्ने नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै प्रलोभन बाँडेका छन् ।

ओलीले मतदाता प्रभावित पार्नेगरी वृद्धभत्ताको प्रलोभन देखाएका छन् । आफुले चुनाव जितेको खण्डमा वृद्धभत्ता पाँच हजार पुर्‍याउने भन्दै मतदातालाई आश्वासन ओलीले दिएका छन् ।

बिहीबार झापाको दमकमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले जितेर एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिए । त्यतिमात्र होइन आयोगको आचारसंहिता विपरीत अन्य दललाई होच्याउने काम पनि गरे ।

आयोगले शैक्षिक क्षेत्रमा पनि असर नपर्ने गरी चुनावी कार्यक्रम गर्न निर्देशन दिएको थियो । ओलीले त्यसविपरीत विद्यालयको पठनपाठन नै रोकेर चुनावी सभा गरेका थिए ।

उनले चुनावी सभामा भनेका थिए, ‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्‍याउँछ ।’

वृद्धवृद्धाको भोट आफूतिर तान्ने ढंगले उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’