भारतमा लगातार घट्यो पेट्रोलको भाउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतमा लगातार घट्यो पेट्रोलको भाउ



काठमाडौं । भारतीय बजारमा पेट्रोलको भाउ लगातार १२औं दिन घटेको छ । त्यहाँका सरकारी तेल कम्पनीहरूले पेट्रोलको खुद्रा मूल्य आइतवार प्रतिलिटर २४ पैसा घटाएका छन् । डिजेलको मूल्य पनि १८ पैसा घटाइएको छ । योसँगै अब एक लिटर पेट्रोल र डिजेलका लागि राजधानीवासीले क्रमशः ७६ रुपया ७८ पैसा र ६८ रुपया १० पैसा तिर्नुपर्ने छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले मे ३० यता भारतमा पेट्रोलियम पदार्थको भाउ घट्दो क्रममा छ ।

आइतवारको कटौतीसँगै विगत १२ दिनमा पेट्रोल र डिजेल क्रमशः १ रुपया ६५ पैसा र १ रुपया २१ पैसा सस्तिएको छ । सरकारी तेल कम्पनीहरूले शनिवार सबैभन्दा धेरै मूल्य कटौती गरेका थिए । उक्त दिन प्रतिलिटर पेट्रोल र डिजेलको भाउ क्रमशः ४२ पैसा र ३२ पैसा घटाइएको थियो । मे ३० अघिका १६ दिनमा भने पेट्रोल र डिजेलको भाउ क्रमशः ३ रुपया ८० पैसा र ३ रुपया ३८ पैसा बढाइएको थियो । त्यो वृद्धिको तुलनामा पछिल्लो कटौती निकै थोरै छ ।

कम्पनीहरूले पेट्रोलको भाउ बढाउँदा औसत दैनिक २३ दशमलव ७ पैसा बढाएका थिए । तर, घटाउँदा भने औसत १३ दशमलव ७५ पैसा मात्रै घटाइरहेका छन् । डिजेलको भाउ बढ्दाखेरि दैनिक औसत २१ दशमलव १ पैसा बढाइएकोमा १० दशमलव शून्य ८ पैसा मात्रै घटाइएको छ । कर्नाटकमा चुनावताका अन्तरराष्ट्रिय बजारमा भाउ बढे पनि १९ दिनसम्म भाउ यथावत् राखिएको थियो । चुनावी नतीजापछि भने लगातार १६ दिन बढाइयो ।