फेरी बढ्यो तेलको मूल्य - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

फेरी बढ्यो तेलको मूल्य



लन्डन (बेलायत) । विश्व बजारमा बिहीवार तेलको मूल्य यस वर्षकै उच्च विन्दुनजीक पुगेको छ । अमेरिकामा तेल आपूर्ति घटिरहेकै बेला पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को उत्पादन कटौतीको निर्णय र अमेरिकाले इरान, भेनेजुएलामाथि लगाएको प्रतिबन्धले बजारमा आपूर्ति घटेपछि तेलको भाउले टेवा पाएको हो ।

बिहीवार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ६८ डलर ६९ सेन्ट पुगेको थियो । यो नोभेम्बरयताकै उच्च हो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार राति ९ बजे ब्रेन्ट क्रुडको भाउ ६८ डलर २७ सेन्ट पुगेको थियो ।

उक्त दिन बिहानी कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ६० डलर ३३ सेन्टको उच्च विन्दुमा पुगेको थियो । यो पनि नोभेम्बर १२ यताकै उच्च हो । यो समाचार तयार पार्दासम्म भने डब्ल्यूटीआई प्रतिब्यारेल ६० डलर ३१ सेन्टमा खरीदविक्री भइरहेको थियो ।

ओपेक र ओपेकभन्दा बाहिरका प्रमुख तेल उत्पादकले तेलको भाउलाई टेवा दिन जनवरीदेखि तेलको उत्पादनमा कटौती गरेपछि तेलको भाउ एकतिहाइ बढेको छ । अमेरिकाले इरान र भेनेजुएलाको तेल खरीदमा लगाएको प्रतिबन्धले पनि तेलको भाउले थप टेवा पाएको हो । उत्पादनमा आएको कमीले विश्वको तेल सञ्चिति घटाएको छ । मध्य जनवरीयता तेल सञ्चिति ४ करोड ब्यारेल घटेको भियनास्थित परामर्शदाता कम्पनी जेबीसी इनर्जीको अनुमान छ ।

सुनको भाउ ३ हप्ताकै उचाइमा
अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ३ हप्ताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले यस वर्ष ब्याजदर नबढ्ने बताएसँगै पहेंलो धातुको भाउ बढेको हो । अमेरिकी आर्थिक वृद्धिको प्रक्षेपणमा गरिएको अप्रत्याशित कटौतीले विश्वको आर्थिक वृद्धि सुस्ताउने चिन्ता बल्झिँदा पनि सुनको भाउ बढेको हो ।

बिहीवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा शुरुआती कारोबारदेखि नै सुनको भाउ बढ्न थालेको थियो । मध्याह्नसम्म स्पट गोल्डको भाउ बढेर प्रतिऔंस १ हजार १ हजार ३ सय २० डलर २२ सेन्टको उच्च विन्दुमा पुगेको थियो । यो गत फेब्रुअरी २८ यताकै उच्च हो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार राति ९ः०५ बजे स्पट गोल्डको भाउ केही घटेर प्रतिऔंस १ हजार ३ सय १० डलर शून्य १ सेन्ट कायम भएको थियो । सोही समयमा यूएस गोल्ड फ्युचर्सको भाउ भने शून्य दशमलव २१ प्रतिशत बढेर १ हजार ३ सय ६ डलर ३० सेन्ट कायम भएको थियो ।

अमेरिकी आर्थिक वृद्धि, बेरोजगारी र मुद्रास्फीतिसम्बन्धी प्रक्षेपण घटाएसँगै फेडले ३ वर्षयताको मौद्रिक नीति कसिलो बनाउने नीतिलाई अन्त्य गर्ने संकेत गरेको छ । फेड अपेक्षाभन्दा निकै ‘डोभिश’ देखिएको छ । फलतः सुनसँग विपरीत सहसम्बन्ध रहेको अमेरिकी डलर केही कमजोर बनेको छ र अमेरिकी ट्रेजरी विलको प्रतिफल पनि घटेको छ । यी सबै कारणले गर्दा सुनप्रति लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरू बताउँछन् । एजेन्सीहरू