घटना घटेको १ हप्ता हुँदा पनि प्रहरी प्रशासन मौन
मंगल बास्कोटे /लम्की, कैलाली । कैलालीको लम्किचुहा नगरपालिका वडा नं ४ बस्ने मान बहादुर चौधरी यति खेर आगोमा जलेका दुई सन्तान र श्रीमतीको उपचारको क्रममा भेरी अञ्चल अस्पतालमा छन् ।
दुई सन्तान र श्रीमती सहित ३ जनाको परिवार हाँसी खुसीका साथ जीवनयापन गरिरहेका थिए । आय आर्जनका निमित्त एउटा सानो पसल सञ्चालन गरेका न्यून वर्गीय मान बहादुर चौधरीको जीवनमा फागुन २५ गतेको रात कालो रात सरह आयो र समस्या थुपारेर गयो ।
फागुन २५ गतेका दिन सुनियोजित ढङ्गबाट ज्यान मार्ने उद्देश्यले राती करिब साढे ११ बजे तिर मान बहादुरको पसल (खोका) मा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएका थिए ।
खोका भित्र मान बहादुरकी ३२ वर्षीया श्रीमती सन्तोसी चौधरी,ढाई वर्षीया छोरा नेत्र बिक्राम चौधरी र ९ वर्षीया चौधरी छारी सुती रहेका थिए ।
रातीको खाना खाएर मान बहादुर चौधरी बाख्रा पालेकाले उनी खोका सँगैको अर्को टहरोमा सुते भने उनकी श्रीमती र दुई सन्तान खोकामा सुते । राती करिब ११ बजेर १५ मिनेटमा दुई जना बाइकमा आएका युवकहरूले बाहिरबाट पेट्रोल छर्केर आगो लगाउँदा सुतिरहेका तिनै जनाको शरीरमा पनि आगो लागेको थियो । आगोले मान बहादुर की श्रीमती सन्तोसीको अनुहार ,खुट्टा र स्तन जलेको छ ।
छोरा छोरीको खुट्टा जलेको छ । शरीरका विभिन्न भाग जलेर सन्तोसीको अवस्था गम्भीर रहेको छ ।आगोले जलेर स्तनमा ठुलो घाउ बने पछि ढाई वर्षीया छोरो दूध खान नपाएर भोकले काकाकुल भएको मान बहादुरले दुखेसो गर्नुहुन्छ । हामीलाई आफ्नो पीडा सुनाउँदै मान बहादुरले भन्नु भयो “राती साढे ११ बजिसकेको थियो श्रीमती छोराछोरीहरू खोकामा सुत्न गए ,म एउटा बाख्रा पालेको छु त्यही खाट लगाएर सुते र अलि पछि कतै बाट आवाज आए जस्तो लाग्यो ,हेर्दा त छोराछोरी र श्रीमती कराइ रहेका थिए” ।
हत्त पत्ता गर्दै खोका नजिक जाँदा आगो लागेको रहेछ । यता उता हेर्दा मोटरसाइकलमा दुई जना भाग्दै गरेको देखे तर चाहेर पनि उनीहरूलाई समात्न सकिन । यदि उनीहरूलाई समात्न जान्थे भने श्रीमती छोराछोरी खोका भित्र जलेर खरानी हुन्थे । खोकाको ढोका फोरेर उनीहरूलाई बाहिर निकाल्दा अवस्था उनीहरूको शरीर आगोमा जलेर क्षतविक्षत भइसकेको थियो ।
राती नै लम्की स्थित लाल रत्न अस्पतालमा सामान्य उपचार गराएर भेरी अञ्चल अस्पतालमा थप उपचारका लागि आएको , चौधरीले बताउनुभयो । घटना लगत्तै इलाका प्रहरी कार्यालय बाट प्रहरीको एक टोली घटना स्थलमा गएको थिए । प्रहरीले घटना स्थलमा गएर घटनाको प्रकृति तथा अवस्था बुझे पनि प्रभावकारी रूपमा कार्य सम्पादन गरिरहेको छैन । घटना भएको आज ७ दिन भैसक्दा पनि दोषीलाई पत्ता लगाउन सकेको छैन ।
किन प्रहरी मौन छ किन प्रहरीले दोषीलाई समात्ने काममा किन प्रहरीले चासो न्यून दिएको छ भनेर प्रहरी सँग बुझ्दा प्रहरीले पिडक मान बहादुर चौधरी उपचारका क्रममा भेरी अञ्चल अस्पताल भएकाले आफूहरूलाई अनुसन्धानका लागि चाहिने आधारभूत तथ्य जानकारीहरू नपाएकाले आगामी कामहरू गर्न गाह्रो भएको बताइएको थियो ।
स्थानियबासि तथा घटना पछि उपस्थिति भएका प्रत्यक्षदर्शीहरुका अनुसार आगो लगाएर दुई जना बाइक लगेर भागेका थिए । पेट्रोल छर्केर आगो लागाईएको हुँदा पेट्रोल गन्ध धेर बेर सम्म आइरहेको थियो ,स्थानीयले बताए साथै प्रहरीले दोषीलाई चाँडो भन्दा चाँडो पक्रेर कानुनी दायरमा ल्यानु पर्ने माग समेत राखे । तर अव घटना भएको करिब १ हप्ता दिन हुन लाग्दा प्रहरीले कुनै प्रतिक्रिया नदिनु लाई आश्चर्यचकित तुलाएको छ । यस्तो गम्भीर ज्यान मार्ने प्रकृतिको मुद्धामा इलाका प्रहरी कार्यालय लम्कीको चासो नजानुले स्थानीय तथा जानकारहरूमा विभिन्न शङ्का उब्जाएको छ ।
उता इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख नैन सिंह साँउदले यही घटनाको दोषी पहिचानको लागी अनुसन्धानमै लागेको बताउनु हुन्छ । आर्थिक अवस्था कमजोर भएका मान बहादुर अहिले श्रीमती र छोरो छोरीकोको उपचारको लागी सहयोगको लम्किचुहा वार्ड नं ४ का अध्यक्ष लाल बहादुर बोगटीको पहलमा केही रकम सहयोग गरी दिए पनि पर्याप्त भने हुन सकेको छैन । अध्यक्ष लाल बहादुर बोगटीले घटनाको बारेमा प्रतिक्रिया दिँदै भन्नुभयो ,” यस्ता किसिमका जघन्य अपराध बाट कसैले उन्मुक्ति पाउँदैन।
कानुनीको दायरमा ल्याइन्छ र पीडित मान बहादुर चौधरीले न्याय पाउनु हुन्छ “। तर पनि आज हप्ता दिन बितिसक्दा पनि घटना दोषीलाई पत्ता लगाउने , कानुनी दायरामा ल्याउने कामको आकार शून्य भएको हुँदा इलाका प्रहरी कार्यालय लम्किको कार्य सम्पादन प्रति जनताको विश्वास उडेको र मान बहादुर चौधरीले न्याउने नपाउने हुन्की भन्ने शङ्का गर्न थालिएको छ ।