के बन्ला त नेविसंघमा ३२ वर्षे भित्रको नेतृत्व ? - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

के बन्ला त नेविसंघमा ३२ वर्षे भित्रको नेतृत्व ?



काठमाडौं।  नेपाली कांग्रेसको नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि निवर्तमान नेताहरुले आपत्ति जनाएका छन ।  पार्टीको शीर्ष तहबाट ३२ वर्ष भन्दा माथी बाटै नेतृत्व ल्याउने गरी तयारी भएपछि निवर्तमान भएका विद्यार्थी नेताहरुले भने आपत्ति जनाएका हुन । निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष भित्रैबाट उमेर हद लगाएरै कार्यसमिति बनाइनु पर्ने बताएका हुन ।

‘उमेर हद् लगाउने भनेर पार्टीले विधानमा लेख्ने, अनि निर्वाचित कार्यसमितिलाई निकम्बा बनाउने, फेरी त्यही ३२ माथीकै नेतृत्व ल्याउने ?, विधान विपरित कि जाने?,’ निवर्तमान महामन्त्री काफ्लेले भने ।

नेतृत्वले ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि तयारी गरेपछि काफ्ले समूहले विरोध गर्दै आएको हो । सो समूहका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको तर पार्टी नेतृत्व विधान विपरित अघि बढेको बताए ।
उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए ।

‘पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५–२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ’, उनले भने, ‘अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दैगर्दा उत्तर के दिने ?’

भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र आफूलाई लोकतान्त्रिक भन्ने पार्टी विधान सम्मत जानुको विकल्प नभएको जनाए ।

सो समूहका केही विद्यार्थीहरुले ३२ वर्षमुनीबाटै नेतृत्व ल्याइनु पर्ने भन्दै बुधबार राजधानीमा पत्रकारसम्मेलन समेत गरेका थिए ।

गत २८ माघमा संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्व विहीन छ ।