गैरआवासीय नेपालीले नेपाल छिर्ने बित्तिकै देखाए हर्कत - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

गैरआवासीय नेपालीले नेपाल छिर्ने बित्तिकै देखाए हर्कत



काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन नेपाल आएका केहि प्रतिनिधिले विमानस्थलमा ताण्डव गरेका छन्। सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका हुन् ।

आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका उनीहरू तोडफोडमा उत्रिएका थिए। यसै तोडफोडमा संलग्न रमेशकुमार थापालाई पक्राउ गरिएको छ भने कर्मचारीमाथि अभद्र ब्यबहार गर्ने उनका अन्य ४ साथीलाई कागजपत्र नियन्त्रणमा लिएर छोडिएको छ। पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए ।

थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । जरिवाना गरेर उनलाई मंगलबार छाडिने विभागले जनाएको छ । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका थिए ।

डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेपछि उनीहरू आक्रोशित बनेको बताइएको छ। उनीहरू लाइनमै बसेको बेला एक भारतीयलाई भने बाहिर जान दिइएको थियो । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए ।