एनआरएनएको बिजोग सम्मेलन: प्रतिनिधिले नै गरे चर्को बिरोध - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

एनआरएनएको बिजोग सम्मेलन: प्रतिनिधिले नै गरे चर्को बिरोध



काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको बिचित्रको उद्घाटन भएको छ । होटल ह्यातमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

विश्वभरीका सभ्य देशमा बसेका नेपालीहरूले आयोजना गरेको यो समारोह कुनै कार्यक्रम हो या जात्रा छुट्ट्याउन गाह्रो थियो । ‘यसअघिका कार्यक्रममा यस्तो भद्रगोल देखिएको थिएन’ निर्वाचनका लागि आएका एक सदस्यले हामीसंग भने ।

सम्मेलनस्थलमा रिर्पोटिङका लागि पुगेका पत्रकारहरुले समेत प्रवेश गर्नै पाएनन्। कुनै पार्टी वा संगठन हेरेर मात्र पास वितरण गरिएको जस्तो देखिने कार्यक्रमको सामाजिक सञ्जाल देखि सर्वत्र बिरोध हुन थालेको छ।

कार्यक्रम हेर्न पुगेका बौद्धका एक व्यापारीले भन्दै थिए ‘विश्वभरीका सभ्य नेपाली आएका होलान भन्ने सोंचेको थिएँ, आजबाट उनीहरूलाई हेर्ने नजर नै परिवर्तन भयो’

सम्मेलनको रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई आयोजक र सुरक्षकर्मीहरुले गरेको अवरोधप्रति पत्रकारहरुले आपत्ति जनाएका छन्। सूचना विभागको प्रेस पास देखाउदा समेत अबरोध गरिएको त्यहाँ रिर्पोटिङमा पुगेका पत्रकारहरुले बताएका छन्।

आयोजक र सुरक्षाकर्मीहरुले ‘विशेष पास’ भएकालाई मात्रै रिपोर्टिङ्ग गर्न दिने भन्दै रोकेको बताइएको छ।

उक्त सम्मेलनमा भाग लिन ८१ देशबाट करिब २५ सय प्रतिनिधि आएका छन्। तर मताधिकार भएका प्रतिनिधिले पनि सम्मेलनस्थलमा प्रवेश नपाएको बताएका छन् । प्रवेश नपाएपछी कतिपय प्रतिनिधिले यसको चर्को बिरोध समेत गरेका छन्।

सम्मेलनमा प्रतिनिधिका रुपमा आएका कतिपयलाई वैकल्पिक प्रतिनिधि बनाएर मताधिकारबाट बञ्चित गराइएको पनि बुझिएको छ ।

सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमै अध्यक्ष भवन भट्टले असन्तुष्टि पोखेका थिए। त्यसैगरी प्रतिनिधिका लागि पास लिन बिहानदेखि लाइन बसेकाहरुले रातिसम्म पनि पास नपाएको भन्दै नेतृत्वप्रति हिजैदेखि आक्रोश पोखिरहेका छन्।

कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि उपस्थित भएका छैनन्। उनले केहि समयदेखि संस्थालाई राजनीतिक दलको भातृसंस्था बनाउन खोजिएको भन्दै असन्तुष्टि पोखेका थिए।