विदेश पढ्न जानेले १२ कक्षा पास गर्नै पर्ने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

विदेश पढ्न जानेले १२ कक्षा पास गर्नै पर्ने



सरकारी निर्णय अनुसार अबदेखि १२ कक्षा पास नगरी विदेश पढ्न जान पाइनेछैन।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू समेत बङ्गलादेश, अस्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जाने गरेका थिए र उनीहरूले ‘नो अब्जेसन लेटर’ प्राप्त गर्दै आइरहेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ दिँदै आएको थियो।

‘१२ कक्षा उत्तीर्ण भएकाहरूले मात्रै ‘नो अब्जेक्सन लेटर’ पाउँछन्,’ शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले जानकारी दिए। माध्यमिक शिक्षा १२ कक्षासम्म भएकोले उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।

‘पहिले कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा भनिन्थ्यो। त्यही भएर नो अब्जेक्सन लेटर दिइएको हो। संविधान र ऐनअनुसार पनि १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेको छ। त्यसैले १२ पास नगरी अब नो अब्जेसन लेटर पाइँदैन।’ शर्माको भनाइ थियो।

विदेश जाने क्रममा वैदेशिक मुद्रा सटही लगायत उडान अनुमतिमा समेत ‘नो अब्जेक्सन लेटर’ चाहिन्छ। ‘नो अब्जेक्सन लेटर’ चाहिनेले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका साथै पढ्न जाने संस्था आदिबारेको जानकारी बुझाएपछि सो लेटर पाइन्थ्यो।

‘विद्यालय तहका विद्यार्थीलाई विदेश नपठाउने भन्ने नै हो। १२ कक्षाको विद्यालय तह पास गरेपछि स्नातक पढ्न जान ‘नो अब्जेक्सन लेटर’ दिइन्छ।’ शर्माको भनाइ अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायत पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर दिन कुनै बाधा छैन।’

गत वर्ष मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएर ७० हजार भन्दा बढी विद्यार्थी विभिन्न कोर्स पढ्न विदेश गएका थिए।