नीति तथा कार्यक्रमबारे प्रतिपक्षी देखि अर्थविद सम्म कसले के भने ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नीति तथा कार्यक्रमबारे प्रतिपक्षी देखि अर्थविद सम्म कसले के भने ?



हिमालपोष्ट/काठमाडौं– सरकारले शुक्रबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि विभिन्न खाले प्रतिक्रियाहरु आएका छन् ।

धेरैले सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन हुन नसक्ने बताएका छन् । कसैले गल्ति र कमजोरी ढाकछोप गर्न केहि लोकप्रिय कुरा समेट्न खोजिएपनि निकै महत्वाकांक्षी भएको बताएका छन् ।

हामीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भैसकेपछि आएका मुख्य प्रतिक्रियाहरुलाई समेट्ने प्रयास गरेका छौं ।

शेरबहादुर देउवा : सभापति नेपाली कांग्रेस 

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन् ।

‘केही पनि नयाँ कुरा छैन, खाली आश्वासनमात्रै छ’ उनले भने । नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक नरहेको देउवाले दावी गरे ।

डा.बाबुराम भट्टराई : पूर्व प्रधानमन्त्री

डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले नीति तथा कार्यक्रममा नयाँपन नआएको बताए ।

उनले भने, ‘सुन्दर निबन्ध । जस्तो बारिका पाटा र गह्रा सबै हराभरा । लय मिलेका शब्दहरु सुन्दर छन्’ डा.भट्टराईले भने, ‘तर हामीले सुशासन, समृद्धिमा तीव्र फड्को मार्ने अपेक्षा गरेको हो । यसो गरिन्छ, उसो गरिन्छ भनेर सुन्दर ढंगले आयो । तर कसरी गर्ने भन्ने नयाँपन आएन ।’

डा.भट्टराईले भ्रष्ट्राचार नियन्त्रण गर्ने भनिएपनि कसरी नियन्त्रण गर्ने     भन्नेबारे उल्लेख नभएको भन्दै कर्मचारीलाई कसम खुवाउने भन्नमात्रै कुरा हाँसो लाग्दो भएको उल्लेख गरे ।  ‘भ्रष्ट्राचारलाई पूर्णरुपले नरोकेसम्म राजश्वको अभिवृद्धि गर्न र विकासलाई अघि बढाउन सकिन्न । यहाँ कसरी रोक्ने भनिएको छैन’ उनले भने, ‘बडो हाँसो उठ्दो ढंगले कर्मचारीहरुलाई कसम खुवाउने, प्रतिबद्धता गराउने भनिएको छ । त्यसले भष्ट्राचार रोकिने त हैन ।’

गगन कुमार थापा : पुर्वमन्त्री 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्।

सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ।

थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको ठाउँमा पटकपटक मेरो सरकार भनेकोमा पनि थापाले आपत्ति जनाएका छन्।

‘अहिलेको संरचनाका कुनैपनि मन्त्री र प्रशासकहरुसँग प्रश्न सोध्ने ल्याकत रहेनछ,’ उनले भने, ‘मेरो सरकार किन भनियो? यसमा राष्ट्रपतिको दोष छैन त्यो त सरकारले लेखेर दिएको हो।’

नीति तथा कार्यक्रममा लेखिएको भाषा ठीक छैन भनेर कुनैपनि मन्त्री र प्रशासकले प्रधानमन्त्रीलाई भन्न नसकेको पनि थापाले बताए।

महन्थ ठाकुर : राजपा नेता

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसद भवनमा सञ्‍चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नयाँ लाग्ने कार्यक्रम केही नभएको प्रतिक्रिया दिएका छन् ।

उनले संघीयता कार्यान्वनयका सम्बन्धमा ठोस योजना नआएको गुनासो गरे ।

राष्ट्रपति भण्डारीले करिब दुई घण्टा समय लिँदै राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त सभालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष ०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले सम्बोधनका क्रममा मेरो सरकार भनेर आफूलाई ठूलो बनाएको र जनताको अवमूल्यन गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

दीपेन्द्रबहादुर क्षेत्री : अर्थविद् एवं पूर्वगर्भनर

क्षेत्रीले नीति तथा कार्यक्रममा विगतकै निरन्तरता देखिएको भन्दै कतिपय सन्दर्भहरू दोहोरिएकाले पर्याप्त समन्वयको अभावमा नीति तथा कार्यक्रम आएको बताए ।

‘हामीले यसो गर्छौं, उसो गर्छौ भन्ने कुरा । जस्तै दुई वर्षमा यसो गरिने छ, चार वर्षभित्रमा यस्तो गरिने छ, भन्ने कुराहरू त आयो,’ उनले भने, ‘निरन्तरताहरू देखिएको छ ।’

शिक्षामा सबैको पहुँच पुग्नुपर्छ भन्ने मान्यतामा नयाँ विश्व विद्यालय खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर, हाम्रा पुराना विश्वविद्यालयहरूको नीति के हुने भन्ने कुरामा ध्यान नपुगेको जस्तो देखिएको टिप्पणी पनि उनले गरे ।

अर्थविद् डा. विश्व पौडेल :

राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गत वर्षको जस्तै लाग्यो । सामाजिक सुरक्षा भत्ता बृद्धि हुने भयो यो प्रस्ट छ ।

सरकारले आगामी वर्ष सम्पन्न गर्न सक्ने काम र मनमा लागेको कुरा मिसमास भएर आए जस्तो लाग्यो । यो–यो नीति हो र यो–यो कार्यक्रम हो भनेर छुट्याइदिएको भए हाम्रो हुन्थ्यो ।

जस्तो– अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको क्षमता बृद्धि गर्ने भनिएको छ । यो तत्काल गरिने कार्यक्रम हो की नीति मात्रै हो भनेर बुझ्न सकिदैन ।

नवलपरासीमो धौवादीमा रहेको फलाम खानी उत्खनन् गर्ने भनिएको छ । त्यस्तै सुनखानी र पेट्रोलको अध्ययन गरेर उत्खनन् गर्ने भनिएको छ । तर यसका लागि आवश्यक क्षमता हामीसँग छ कि छैन भन्ने विषयमा नीति तथा कार्यक्रम मौन छ ।

आवश्यकता अनुसार सगरमाथा संवाद आयोजना गर्ने भनिएको छ । त्यो आयोजना के हो भन्ने विषयमा प्रष्ट छैन ।

विश्वप्रकाश शर्मा : प्रवक्ता नेपाली कांग्रेस

प्रवक्ता शर्माले भने, ‘नीति चार बोरा आएको छ। तर, कार्यक्रम एक अम्खोरा जति छ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिथ्यांक प्रस्तुत गरेको शर्माले आरोप लगाए। हिंसा अन्त्य भएको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै उनले भने, ‘यो सरकारले हिंसा अन्त्य गरेको हो? के आधारमा भन्यो? बरु यो सरकारको समयमा बम पड्केर मान्छे मरेका छन्। दलमाथि प्रतिबन्ध लागेको छ। बलत्कार र हिंसाका घटना बढेको छ।’

तथ्य र तथ्यांकमा नतिजा ल्याउने दाबी गरको सरकारले तथ्यांक देखाउने हिसाबबाट सरकारले प्रष्ट गर्ने केही नदेखिएको उनको भनाइ छ। उनले भने, ‘स्टिमर चलेको गौरवको साथ प्रस्तुत गरियो। तर, कोसीमा स्टिमर चलेको धेरै वर्ष भइसक्यो।’

‘सामाजिक सुरक्षा कोषका लागि तामझामका साथ सरकारले सुरुवात गरेको कार्यक्रमले कोषमा कुनै प्रगति भएको छैन,’ उनले भने। रोजगारदाताहरूको सहभागिता न्यून रहेको उनले औंल्याए।

भ्रष्टचार घटेको दाबी गर्ने सरकारकै समयमा वाइडबडी, बुढीगण्डकी जस्ता काण्ड भएकाले सरकारको दाबी एकतर्फी भएको उनले बताए।