१५ लाख छात्रालाई सरकारको निःशुल्क प्याड - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

१५ लाख छात्रालाई सरकारको निःशुल्क प्याड



काठमाडौं- सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ।

महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपलब्ध गराइने शिक्षा मन्त्रालयले जनाएको छ। मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म १५ लाख छात्रा छन्।

सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा सामुदायिकका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो। मन्त्रालयले कार्यविधि बनाएर प्याड वितरणको तयारी थालेको छ।

‘कार्यविधि लगभग टुंगियो, बजेट पनि व्यवस्था भइसकेको छ,’ मन्त्रालयका योजना तथा बजेट महाशाखाका सहसचिव कमल पोखरेलले भने, ‘बजेट र कार्यविधिसहित स्थानीय तहलाई प्याड वितरण र व्यवस्थापनको जिम्मा दिन्छौं।’

स्थानीय सरकार र विद्यालयलाई प्याड वितरण व्यवस्थापनको जिम्मेवारी दिन लागिएको उनले बताए। स्यानिटरी प्याड वितरणलाई राष्ट्रिय कार्यक्रमका रूपमा स्थानीय तह हुँदै विद्यालयसम्म पुर्‍याइने पोखरेलले जानकारी दिए। यसका लागि लागि वार्षिक डेढ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान छ। चालु वर्ष उक्त कार्यक्रमका लागि न्यून बजेट छ।

अपुग हुने रकम अर्थ मन्त्रालयसँग माग गरिसकिएको शिक्षा मन्त्रालयले जनायो। राष्ट्रपति शैक्षिक विकास कोषका लागि बजेटमा ५ अर्ब छुट्याइएको छ। प्याड वितरणमा सोही कोषको केही रकम खर्चने गरी छलफल अघि बढेको मन्त्रालय स्रोतले उल्लेख गरेको छ।