निर्वाचन आयोगको निर्णयले गठबन्धनलाई फाइदै फाइदा
काठमाडौ – निर्वाचन आयोगले सत्ता गठबन्धन अनुकुल निर्णय गरेको आरोप लागिरहेका बेला मतपत्र छाप्ने निर्णय गठबन्धनका लागि झनै अनुकुल देखिएको छ । आयोगले ६ महानगरमा अन्तिम नामावलीपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको छ ।
आयोगको उक्त निर्णयले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नेहरूको मात्रै चुनाव चिन्ह छापिने छ । गठबन्धनमा रहेका अन्य दलको भने मतपत्रमा चुनाव चिन्ह हुनेछैन । यसले अन्तरद्वन्द्व बढेको गठबन्धनभित्र राहत मिलेको छ । आन्तरिक असन्तुष्टिका कारण गठबन्धनबाट उठेका उम्मेदवारको चिन्हमा मत नहालेर आफ्नै चिन्हमा मत दिएर बदर गराउने सम्भावना बढी भएकाले यस्तो निर्णय गरिएको बताइन्छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिकामा नेकपा एमाले र राप्रपा नेपालले तालमेलमा उम्मेदवार उठाए। नेकपा एमालेले मेयरमा विद्यासुन्दर शाक्यलाई उठायो भने राप्रपाले राजाराम श्रेष्ठलाई अघि सार्यो। मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी हुन सफल भए। तर राप्रपाका उपमेयर उम्मेदवार श्रेष्ठ पराजित भए। उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीले जित हात पारिन्।
काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा धेरै मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। एमालेले उम्मेदवारी नै नदिएको उपप्रमुखमा २० हजारभन्दा बढी मत पर्यो। जुन, मत कतै पनि गणना नभई खेर गएको थियो। राप्रपाले पाउनुपर्ने उक्त मत सूर्यमा छाप लागेको थियो। त्यतिबेला गठबन्धन भएका धेरै स्थानमा यस्तै नतिजा आएको आयोगको तथ्यांकमा उल्लेख छ। यसरी धेरै मत बदर हुने सम्भावना अहिले पनि धेरै रहेको देखिएको छ।
यसरी मत खेर जाने चिन्ता भइरहँदा निर्वाचन आयोगले काठमाडौंसहित ६ महानगर र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारीको अन्तिम टुङ्गो लागेपछि मात्र मतपत्र प्रकाशित गरेर ढुवानी गर्ने निर्णय गरेको छ।
आयोगको उक्त निर्णय कतै गठबन्धनलाई सहयोग गर्न त हैन भन्ने प्रश्न उठेको छ। तर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले यो निर्णय एक महिना अघि नै गरेको बताए। उनले आयोगले कुनै गठबन्धन नचिन्ने भएकाले उसको पक्ष वा विपक्षमा भनेर कुनै निर्णय नगर्ने बताए। अहिले देशभरका ७७ जिल्लाको मतपत्र छपाई भइरहेको र काठमाडौंसहित ६ महानगर र भक्तपुरमा सहज रुपमा मतपत्र पठाउन सकिने भएकाले यस्तो निर्णय राजनीतिक दलहरुको सहमतिमै गरिएको उनको दाबी छ।
यहीकारण निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने भएको उनले बताए । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेर वैशाख १७ गते दाबी विरोधपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्ने छ। अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्दा दलहरुले आफ्नो उम्मेदवार उठाएको ठाउँ (पद) मा मात्रै चुनाव चिह्न रहने छ।
जस्तै काठमाडौंमा नेपाली काग्रेसको मेयरमा मात्र उम्मेदवारी दर्ता भयो भने र उपमेयरमा भएन भने उपमेयरमा रुख चिह्न हुने छैन। नेकपा माओवादी केन्द्रले आफ्नो दलले उम्मेदवार उठाएको ठाउँमा मात्रै मतपत्रमा चुनाव चिह्न राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारी दर्ता भएपछि मतपत्र छाप्दा कम चिह्न हुने कुरा आयोगले महसुस गरेको तर यो देशरभका लागि सम्भव नभएको बताए।