अब फेक फेसबुक पेज चलाउनेलाई पाँच वर्ष जेल - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब फेक फेसबुक पेज चलाउनेलाई पाँच वर्ष जेल



काठमाडौं- निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फेसबुक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्य दृश्य सामग्री प्रकाशन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो चेतावनी दिएको हो ।

आयोगले त्यस्ता झुट फेसबुक पेज र ग्रुप सिर्जना गरी दलका नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ङ) को प्रतिकूल रहेको जनाएको छ ।

उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुट फेसबुक पेज र ग्रुप तत्काल हटाई यसपछि यस किसिमका गतिविधि नगर्न आयोगले आग्रह गरेको छ । साथै, उक्त फेसबुक पेज र ग्रुप तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।