मतदान अधिकृतले नै भटाभट एमालेका उम्मेदवारलाई भोट मागेपछि… - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मतदान अधिकृतले नै भटाभट एमालेका उम्मेदवारलाई भोट मागेपछि…



म्याग्दीका एक जना मतदान अधिकृतले नै भटाभट एमालेका उम्मेदवारलाई भोट मागेपछि निर्वाचन कार्यालय नै विवादित बनेको छ ।

निर्वाचन अधिकृतको यस्तो हर्कतपछि निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जिम्मेवारीमुक्त गरेको छ।

धवलागिरी गाउँपालिका-५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्कीले बिहीबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए।

कार्कीको फेसबुकको स्क्रिनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तर्गतको जिल्ला आचारसंहिता अनुगमन समितिलाई उजुरी दिएका थिए।

उजुरीका आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो। कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्विकार गरेका थिए।

आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए।

कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

मालिका गाउँपालिका-४ को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचारसंहिता विपरीतको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएका हुन्।