निर्वाचन आयोगको सिन्डिकेटविरुद्ध जनआक्रोश बढ्दै - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

निर्वाचन आयोगको सिन्डिकेटविरुद्ध जनआक्रोश बढ्दै



काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ‘;नो नट अगेन अभियान’को पक्षमा अभिव्यक्ति दिएका छन् ।

एक विज्ञप्तिमार्फत डा.केसीले नेतृत्वदायी पदमा बसेर देशलाई ‘कुशासनको दुष्चक्रमा फसाएका खलपत्रहरू’लाई निर्वाचनबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।

उनले निर्वाचन आयोगले निकालेको विज्ञप्तिको विरोध पनि गरेका छन् ।

‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौँ।’

उनले भनेका छन्,’वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौँदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’

आयोग आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत रहेको पनि उनको आरोप छ । निर्वाचन आयोगका पदाधिकारीबाट भएको यस्तो कार्य अशोभनीय मात्र नभई जनविरोधी पनि रहेको हाम्रो ठहर छ,’उनले भनेका छन् ।

केसीले आत्मालोचनासहित विज्ञप्ति तत्काल फिर्ता लिन पनि निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

‘अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको हिंसात्मक रूपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौँ, ।’ उनले भनेका छन् ।