निर्वाचन आयोगको अर्को 'एक्सन'- खर्च विवरण नबुझाउने उम्मेदवार अब कालोसूचीमा - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

निर्वाचन आयोगको अर्को ‘एक्सन’- खर्च विवरण नबुझाउने उम्मेदवार अब कालोसूचीमा



काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचीमा राखिने बताएका छन्। आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण सार्वजनिक नगरे त्यस्ता उम्मेदवारलाई ६ वर्षसम्म कालोसूचीमा राखेर निर्वाचनमा भाग लिन नदिइने उनको भनाइ छ।

बिहीबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकका लागि नगरकोटमा सुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कालोसूचीमा परेका त्यस्ता उम्मेदवारले ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले सुनाए। नियोगकले उम्मेदवारले गर्ने खर्चको पर्यवेक्षण गरी दलीय व्यवस्थामा दलहरूले आफ्ना नीति, विचार र सिद्धान्त स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए। उम्मेदवारका लागि आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको उनको दाबी छ।

उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान हुने उनको धारणा छ। थपलियाले निर्वाचनको मिति घोषणादेखि मत परिणाम घोषणापछि विजयी उम्मेदवारले गर्ने भोजभतेर पनि निर्वाचन खर्चमै जोडिने हुँदा यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए।

दलका उमेदवारले सामाजिक सञ्जालमा गरेको खर्चमा आयोगले निगरानी राख्ने उनले जानकारी दिए। १० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने थपलियाले सुनाए। प्रशिक्षणमा ७७ जिल्लाका जिल्ला संयोजक र सात वटै प्रदेशका संयोजक सहभागी छन्।