बदलिँदो चुनावी प्रचार शैली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बदलिँदो चुनावी प्रचार शैली



सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको देखिएको जानकारहरुले बताएका छन्।

नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन्।

यस्तै पुराना र ठूला भनिएका दलहरुले भन्दा नयाँ दलहरुले समाजिक संजालको अत्याधिक प्रयोग गरेको पनि उनीहरुले बताएका छन्।

पहिले पहिले चुनाव अगाडी भाषण र र्‍यालीका आवाज चोकचोक र गल्लीगल्लीमा सुनिन्थे भने अचेल तिनलाई फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका वेबसाइटहरुमा पनि प्रशस्त राखिएको पाइन्छ।

प्रभावकारी

एकै पटक धेरै मानिसको पहुँचमा पुग्न सकिने भएकाले उम्मेदवारहरुले प्रचारका निम्ति यस्ता सञ्जालको प्रयोग गरेको देखिन्छ।

शहरका धेरै मानिसहरु कुनै न कुनै माध्यम मार्फत सामाजिक सञ्जालमा संलग्न रहेकाले उनीहरु माझ यो प्रभावकारी हुने ठानिन्छ।

तर घुमाउरो तरिकाले ग्रामीण भेगका जनतासम्म पनि सामाजिक सञ्जाल मार्फत गरिएको चुनावी प्रचारले प्रभाव पार्न सक्ने तर्क राख्छन् सामाजिक सञ्जालका एक जानकार उज्ज्वल आचार्य।

उनले भने, “विदेशमा काम गर्न जानु भएको धेरै नेपालीहरुले फेसबुक लगायत सामाजिक सञ्जाल एकदमै प्रयोग गर्नु हुन्छ। उहाँहरुलाई प्रभाव पार्न सकियो र उहाँहरुले फलानो मान्छे राम्रो रहेछ भनेर यहाँ रहेका घर परिवारलाई भन्दा त्यसको प्रभाव पर्छ नै।”

प्रयोग

स्थानीय तहको निर्वाचनको प्रचारमा पनि राजनीतिक दलहरुले सामाजिक सञ्जालको निकै प्रयोग गरेका थिए।

फेसबुक, ट्वीटर र युट्युब बढी प्रयोग भएको भेटिएको थियो।

यसपटक पनि विभिन्न राजनीतिक दलहरुले यिनकै माध्यमबाट लाखौं मतदाताहरुलाई सम्बोधन गर्ने गरेको पाइएको छ।

स्थानीय तहको चुनावकै बेला तयार भएका चुनावी नारा, गीत लगायत अन्य प्रचारप्रसारका सामग्री प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रचारका लागि पनि सामाजिक सञ्जालमा प्रयोग भएको वरिष्ठ पत्रकार कुन्द दीक्षितले बताए।

नयाँ

यसपटक नयाँ दलहरुले सामाजिक सञ्जालको प्रयोग बढी गरेको भेटिएको दीक्षित बताउँछन्।

उनले भने, “सामाजिक सञ्जालका लागिनै भनि भिडीयो अथवा अन्य सामग्रि नयाँ दलहरुले बनाएका छन्। सामाजिक सञ्जालमा नयाँ दलहरुको उपस्थिति निकै धेरै छ। मूलधारका दलहरुले यस्तो गरेको देख्दिनँ म।”

नेपालमा सामाजिक सञ्जालको प्रयोग अमेरिका, ब्रिटेन लगायतका विकसित देशहरुमा जस्तो व्यापक हुन नसकेपनि यसको प्रयोग लगातार बढिरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालको जनसंख्याको ६२ प्रतिशतसम्म इन्टरनेट पहुँच छ।

सञ्जाल

साथै करिब ४५ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्दछन्।

केही महिना अघि सम्पन्न भएको स्थानीय चुनाव र आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचारमा सामाजिक सञ्जालको प्रयोग निकै बढेको जानकारहरु बताउँछन्।

सामाजिक सञ्जाल मार्फत प्रचार गर्दा खर्च कम लाग्ने र एकपटक गरेको प्रचार दोहोर्‍याए प्रयोग गर्न सकिने भएकाले यसले समय पनि कम लाग्ने कतिपय विज्ञहरुको भनाइ छ। बिबिसी