एक रात : दुई अनुभूति - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एक रात : दुई अनुभूति




–निर्मोही व्यास

हिजो ठोरी जान भनेर गीतानगरदेखि चढेर आएको बसले दिउँसो तीन बजेतिर माडीको यही बगही गाउँको पुछारमा ल्याएर ओरालिदिएको थियो ‘ठोरीमा मान्छे कुटाकुट भएकोले गाडी जाँदैन’ भनेर। यहाँ नओर्ली धरै पाइएको थिएन र यहाँबाट हिँडेर गइएको थियो ठोरी। आज पनि ठोरीबाट वेलैमा हिँडिएको, बाटोमा कुनै बिघ्‍न–बाधा झेल्न नपरेको र आधाबाटोमै भए पनि मोटर फेला परेर चढिएको हुनाले बेलैमा गीतानगर, चेतकान्तजीको घरमा पुग्न पाइने भइयो भन्दै दङ्ग परिएको थियो तर बसका स्टाफहरूकै बेफ्वाँकको अल्याङमल्याङका कारणले यतिन्जेलमा गीतानगर पुग्नु त कताकता झन् उल्टै यो झम्के साँझमा अझ बत्ती नै बलेपछि नारायणघाट र ठोरीको झन्डै आधाबाटोमा पर्ने माडीको यही बगही गाउँमै पो आएर थन्किदियो ठोरीको बस। उफ्… कस्तो पिरलोमा परियो बस भनाउँदो ठाँडाले गर्दा हिजो पनि, आज पनि ! यो गाउँमा वास बस्ने पूर्वयोजना बनाएर हिँडेको भए पनि लौ त भन्नु। त्यतिकै घुमफिरका लागि हावादारी पारामा हिँडेको मान्छे। अनि, संयोग चाहिँ यस्तो पऱ्यो। त्यसमाथि झन् रातिको मामला !

त्यो दिन थियो २०५८ साल वैशाख ११ गते।
अँ त, बसबाट ओर्लेपछि भुट्भुटिएर खुइय सुस्केरा हाल्दै र लुगासुगा झारझुर पार्दै मैले चेतकान्त चापागाईँजीलाई भनेँ—“कविजी ! अब कसो गर्ने ? बाटो लाग्ने उपाय नै छैन भोलि बिहान नभई। बजारको ठाउँ भएकोले पेट भर्नलाई त केही न केही पाइहालिएला तर रात चाहिँ कहाँ, कसरी काट्ने हो ? तपाईँकै जिम्मा है ! म त नितान्त नौलो मान्छे परेँ माडीको लागि।”

चेतकान्तजी छचल्किनुभयो– “आः, केको पीर ! यहाँ मेरा एक जना चिरपरिचित व्यक्ति छन् साथीजस्तै। गीतानगर–भरतपुरतिर भेट हुँदा उनी मलाई जहिले पनि कर गरिराख्थे ‘कुनै दिन मकहाँ रातै बस्ने गरी आउनोस्न है !’ भनेर तर मलाई भने उनीकहाँ जान अझसम्म कहिल्यै त्यस्तो मौका परेकै छैन।” र, मलाई अथ्र्याउँदै उहाँले फेरि थप्‍नुभयो — “एहे, तपाईँले पनि देख्‍नु भएकै छ नि उनलाई। हामी हिजो दिउँसो यहाँ बसबाट ओर्लनासाथ एक जना पुरुष भेटिएर कुरा गर्दै थिए नि ? हो, उनै त हुन्। उनले हिजै मात्र पनि उसैगरी आग्रह दोहोऱ्याएका छन्, त्यसैले आजलाई गाँसबासको क्यै चिन्ता छैन। हिँड्नोस्, सोधखोज गर्दै सरासर उनीकहाँ नै जाऊँ।”
मैले झलक्क सम्झेँ हिजोको प्रसङ्ग र सहमति जनाएँ— “ए साँच्ची, हो त नि ! लौ जाऊँ त जाऊँ।
अव हामी ढुक्क हुँदै पटक्कै अलमल नगरी उत्तराभिमुख भएर तिनै पुरुषको घरतिर लाग्यौँ र दश मिनेटजतिमा भित्रियौँ आँगनमा।

पिँढीतिर उफ्रिरहेका केटाकेटीलाई घरमूलीको नाउँ लिएर उनी घरमा भए–नभएको बारेमा सोध्दा घरमै भएको र अहिले भान्सा गर्दै गरेको भन्ने थाहा भयो। चेतकान्तजी प्रफुल्ल चित्तले भान्साघरको ढोकाबाट भित्रपट्टि च्याएर उच्च स्वरमा उनको नाम लिई नमस्कार टक्र्याउँदै नितान्त अनौपचारिक र आत्मीय पारामा पोखिनुभयो। “…जी, नमस्कार ! म गीतानगरको चेतकान्त चापागाईँ, लौ म त आइपुगेँ है पाहुना लाग्न !”

धोतीपाटा फेरेर चौकामा पलेँटी मारेर बसी धमाधम भोजनमा मग्न ती पुरुषको मुखबाट जबाफमा एक शब्द पनि चुहिएन चेतकान्तजीको स्वागतमा। बरु चुलोनजिकै बसेर उनलाई दालभात थपिरहेकी उनकी बूढीबज्यैको स्वर सजिलै फुस्कियो—“बजारमा त्यतिका होटेल, पसल छन् खानेकुराका। जे जे खाए पनि पाइहालिन्छ नि। उतै लाग्नुभए हुन्छ।”

हरे…शिव ! के सुन्नुपरेको हाम्रा कानले आज यी गाउँले प्रौढा ब्राह्मणी गृहिणीका मुखबाट ! त्यसै त्यसै मरेतुल्य भयौँ हामी। तर, अचम्म ! ती घरमूली पुरुष भने उसैगरी निहुरेर खाइ नै रहेँ। आफुले महिनौँ र वर्षौँदेखि लिएर हिजै दिउँसोसम्म नै पनि बारम्बार कर गरी गरी निम्त्याएका एक आत्मीय मित्र आज साँझका पाहुना बनेर आफु भान्सा गरिराखेको बेलामा आफ्ना घरमा आइपुग्दा पनि स्वागत–सत्कार गर्ने कुरा त परै रहोस्, उल्टै आफ्नी बूढीले ती आत्मीय अतिथिप्रति त्यस्तो दुच्छर बोली–व्यवहार देखाउँदा पनि प्रतिवादमा उनी एक अक्षर पनि नओकली ‘निहुरीमुन्टी न’ भएर मजाले खाइरहनसक्नु कस्तो अचम्म ! हरे ! कुन मन, मुटु, चेतना, विवेक र नैतिकताले सकेको होला उनले त्यसो गर्न ? र कसरी सकेको होला त्यसो गर्न ? कसैले सुन्दा पनि पत्याउनै गाह्रो पर्ने कुरा !
त्यसपछि मैले चेतकान्तजीलाई फरक्क फर्किहाल्न सङ्केत गरेँ। उहाँले रन्थनिँदै भए पनि बूढीलाई विनम्र स्वरमा जबाफ दिनुभयो —“बजारमा खाने कुरा पाइन्छ भन्ने कुरा त हामीलाई पनि थाहै छ नि। र, हामी खानै नपाएर आएका पनि त कहाँ हौँ र हजूर ? तपाँईँका बूढाले नै जहिलेसुकै र जहाँसुकै भेटिँदा पनि ‘एक रात मकहाँ खाने–बस्ने गरी आउनोस्न’ भनेर अनुरोधमाथि अनुरोध र आग्रहमाथि आग्रह गरेर निम्त्याउने गरेकाले संयोगवश आफू आज यो गाउँमा आइपुगेको मौकामा उहाँको मन राखिदिन मात्र पो पसेको त।”

बूढीको उस्तै कर्कशा बोली घन्क्यो फेरि पनि —“बूढाले बोलाए भने भन्दैमा हुन्छ ? हेर्नोस्, मेरो घर धर्मशाला होइन, सदावर्त होइन। मैले कसैलाई गाली गरेकी पनि छैन। ‘जानोस्’ भनेपछि पनि अझै नानाभाँती कुरा किन गरिराखेको ? खुरुक्क नगएर ?”

बूढाको मुद्रा भने फेरि पनि उस्ताको उस्तै। अँहँ, कुनै हलचल नै नास्ति। गजाधर सोतीकी बूढीलाई पनि माथ गर्ने यी बूढी र यी बूढीलाई पनि माथ गर्ने यी बूढा। कस्तो अचम्म ! राम राम !
त्यसपछि चेतकान्तजी र म मुर्दाको जस्तो निर्जीव र कालो अनुहार लिएर निस्क्यौँ त्यस घरबाट।
सोझा गाउँले ब्राह्मणका सन्तान हामी आजको यस अलच्छिना साँझ यसरी जातका सबभन्दा चोखा भनिने ब्राह्मणमध्येकै एक जनाको अलच्छिना घरबाट नितान्त उल्टो अनुभूति सँगालेर फर्कँदै थियौँ त्यो पनि कुनै सहरमा नभएर खोँचभित्रको गाउँमा नै।

हामी हिजो ठोरी जानलाई गीतानगरबाट बस चढेर यहाँ आइपुगेपछि बसका स्टाफहरूले ‘अब यहाँदेखि उता गाडी जाँदैन’ भनेर हामीलाई बसबाट ओरालिदिएलगत्तै यहीँ भेटिएका थिए ती अधबैँसे पुरुष। र उनले “आज यहीँ मेरो घरमा बसौँ” भनी कर गरेर घरको बाटो समेत देखाएका थिए। जबाफमा चेतकान्तजीले “अहिले त हामी ठोरी जाँदै छौँ। भोलि उताबाट फर्कँदा चाहिँ त्यस्तै परेछ भने तपाईँकहाँ नै रात बसौँला” भन्नुभएको थियो। अनि “लौ त उसो भए आजलाई म कर गर्दिन, तर ‘भोलि चाहिँ बाटो काटेर गीतानगर नजानुहोला नि फेरि। दिनभरि पनि घरै हुन्छु म। त्यसैले यहाँ जति बेला आइपुगे पनि सरासर मकहाँ नै आउनुहोला है !” भनेर घर जाने बाटोको समेत सङ्केत गरी छुट्टिएका थिए उनी। त्यो सारा दृश्य अझै झल्मलाइरहेकै थियो मेरा आँखामा तर हरे ! उनको बोलीव्यवहारमा भने हिजोको आजै कत्रो अन्तराल !
मेरो रन्थनिएको मनले आफैँसित प्रश्नोत्तर गऱ्यो— यी ‘घरमूली’ हुन् ? कि ‘घरमुला’ हँ ? खै कुनि !

जीवनमा आफूले अहिलेसम्म कति कति यात्रा गरियो, कस्ता कस्ता गाउँ–ठाउँमा पुगियो, क–कसकहाँ बास बसियो अनि त्यसैगरी कहाँ–कहाँका क–कसलाई र कति–कतिलाई आफुकहाँ पनि गाँसबास दिइयो सम्झना गरेर के साध्य ? तर, सरल, सभ्य र सुसंस्कृत मान्छेको खोल ओढेका यस्ता अचम्मका गाउँले गृहस्थ प्राणीहरूसित भने कहिल्यै भेट भएको थिएन हाम्रो।

गएकै बाटो लुरुलुरु फर्कँदै गर्दा चेतकान्तजीले भन्नुभयो—“हेर्नोस्न व्यासजी ! त्यसो त, यो गाउँमा मेरो बस्ने ठाउँ नै नभएको त कहाँ हो र ? मेरी माइली छोरी सङ्गीताको आफ्नै घर यहीँ अलि पर भित्रपट्टि छ र छोरी पनि अहिले यहीँ नै छे। तर के गर्नु ! बिहे भएको धेरै भएको छैन। नातिनातिना नहुन्जेल छोरीको घरमा गएर खान–बस्न नहुने हाम्रो परम्परागत चलन। जुवाइँ जागिरको कामले वीरगन्जतिर हुनुहुन्छ। घरमा छोरीसँगै सम्धी–सम्धिनीज्यू पनि हुनुहुन्छ। उहाँहरूको पनि त मान राख्नुपर्छ। आफू भने यो तालले आइयाछ एउटा फ्याङ्लो झोलामा लुङ्गी र कापीकलम हालेर शुद्ध घुमन्ते–उडन्ते साहित्यकारको भेषमा। त्यसैले छोरीको घरमा जाने कुरै आएन। छोरीलाई चाहिँ बरु खबर पठाएर यतै कतै बोलाउनुपर्ला। त्यसो त यो गाउँमा मेरा एक जना आत्मीय मित्रको पनि घर छ। रामचन्द्र घिमिरे नाउँ हो उहाँको र उहाँ हार्दिकता र बौद्धिकताले सम्पन्न अति सरल र असल व्यक्ति हुनुहुन्छ। तर मित्र भए पनि के र ? नातामा त उहाँ पनि मेरा सम्धी नै हुनुहुन्छ नि। छोरीका साख्खै मामाससुरा। त्यसैले यो तालले उहाँकहाँ पनि कसरी जानु ?”
र अग्घोर नरमाइलिँदै चेतकान्तजीले फेरि थप्नुभयो— “हरे…छोरीको गाउँमा यो निस्पट्ट अँधेरी रातमा बूढो बाबुको बिचल्ली ! हाम्रो चलन पनि कस्तो हगि !”

अब अघि बसबाट ओर्लेकै ठाउँ, बजारछेउको बरपीपल चौतारीनजिक लुखुरलुखुर आइपुग्यौँ हामी फर्केर। चौटा खान गएकी उखानकी बूढी यसरी नै मरेकी हुँदी हो झोलमा डुबेर, भन्ठाने मैले।
हिजो बिहानैदेखि लिएर आधारातसम्मको ठोरीयात्राको अपूर्व र अविस्मरणीय सास्तीभोगाइ।
आज एकाबिहानैदेखिको ठोरीका गाउँ–गाउँ र रेल्वे स्टेसनसम्मको लखरलखर डुलाइ। दिउँसो एघार बजेदेखि बेलुका छ बजेसम्म कोचमकोच बसमा धुले स्नानसहितको वर्णनातीत थिलथिलाइ। र, अहिले माडीमा ओर्लेदेखि एकनासले गाँस–बासको अनिश्चितताको पिरोलाइ। अब भन्नोस् त कस्तो भएको होला हामी दुई प्राणीको शारीरिक र मानसिक दशा !

त्यसमाथि पनि फेरि वरिपरिका छाप्रे होटेलहरूमा खानेकुरा सोध्दा ‘ठ्याम्मै नास्ति’। सुख्खा चिउराबाहेक कतै पनि केही पनि नास्ति र दही–दूध सोध्दा त्यो पनि नास्ति। म जस्तो एमोबिक अल्सरको दीर्घरोगीको पेटले सुख्खा चिउरालाई धान्न सक्ने कुरै भएन। अब के गर्ने ? खै, के गर्ने–के गर्ने ! बिलखबन्द पर्‍यौँ हामी। त्यसपछि बिस्कुट बन्न पुग्यो हाम्रो एक मात्र आशा र भरोसाको केन्द्रबिन्दु। पसलहरूमा बिस्कुटको भने तै अनिकाल रहेनछ। अनिकाल रहेनछ मात्र होइन, बरु त्यसको छेलोखेलो नै पो रहेछ। अब केको पीर बाबूहो ! जति मन लाग्छ किन, र जति मन लाग्छ खाओ। रोक्न–छेक्न वा बाधा पार्न कसका पितृको तागत ! तिमीहरू स्वस्थानीकी चन्द्रावती होइनौ क्यारे।

पेटका आन्द्राहरू साफसित छुत्ती खेलिरहेकाले यो आपसी सल्लाहपछि जनही तीन–तीन पुरियाका हिसाबले छवटा पुरिया किन्यौँ ग्लुकोज बिस्कुटका र थन्क्यायौँ झोलामा।

           —“अब कहाँ जाने चेतकान्तजी ?”

           —“खै कता पो भनूँ निर्मोहीजी !”

चोला बिसाउने ठाउँ पाउन बरु सजिलो होला, झोला बिसाउने ठाउँ पाउन भने त्यस्तो गाह्रो भयो अहिले हामीलाई। कसो गर्ने होला ! भनेर गम्न थालेँ म र गम्दा गम्दै हठात् दिव्य स्फुरण भयो मलाई —आहा ! नजिकै यस्ता वात्सल्यका प्रतिमूर्ति बाबा–आमा जस्ता जोडी बरपीपलको मायालु छहारी हुँदा हुँदै किन यसरी पिरोलिनु ? काटौँ आजको रात यिनै दयालु दम्पतीको काखमा। र, यो स्फुरणसँगै झलक्क सम्झन पनि पुगेँ म आफ्नो केटौले उमेरका अप्ठ्यारा दिनका कतिपय हिउँदे रातलाई।

किशोरकालमा मध्य जाडो याममा जजमानी, खेती वा अन्य कामविशेषले बाबासित घर कलैयाभवानीपुरदेखि टाढा कतै देहाती गाउँठाउँमा गएर फर्कने क्रममा राति असहाय अवस्थामा बस्तीदेखि पर बाटोछेउका खेत वा खलामा थन्क्याइएको परालको कुन्यूँको बीच भागमा अलिअलि गरी खोस्रेर सानो ओडार जस्तो बनाई बाबुछोरा त्यसैभित्र गुँडुल्किएर रात काटी भोलिपल्ट बिहान जताततै परालका त्यान्द्रात्यान्द्री र धुस्नाहरू अल्झेर धुस्रेफुस्रे भएको कपाल, जीउ र लुगाका साथै नयाँ परालको खारिलो गन्धको दुष्प्रभावबाट निम्तिएको पातलो सिँगान लत्पतिएको अनुहार लिएर घर फर्केको छु म कैयौँपल्ट। र, त्यस्तै परिस्थितिमा अनकन्टार फाँटको बीचमा खोलाको डिलमाथि गम्छा ओछ्याएर कुक्रुक्क परी खुला आकाशमुनि बिताएको एउटा त्रासद रातको सम्झना पनि अझै झल्झलाकार नै छ मेरो मनमा। भने, अहिले गर्मी याममा बाक्लो बस्तीभित्रको बरपीपलको चौतारीमा एक आत्मीय कवि मित्रका साथ झन् किन बिताउन नसक्नु आजको यो एक रात ?

चेतकान्तजीलाई पनि मेरो यो बरपीपल चौतारीमा बास बस्ने योजना निकै जँच्यो। र, हामीले सडकको पूर्वी छेउमा रहेको त्यस पक्की बरपीपल चौतारीमा उक्लेर बिसायौँ झोला, ओछ्यायौं आ–आफ्ना लुङ्गी, जमायौँ त्यसमाथि पलेँटी, फुकायौँ बिस्कुटका पुरिया र चपाउन थाल्यौँ धमाधम। बाबा, ख्याल भोक लागेको थियो त ? बिहान दश बजेतिर ठोरीमा खाएको भातले अहिले रातिको आठ बजेसम्म के गरी धान्यो होला ! धन्य !

यसरी मैले दुई पुरिया बिस्कुट चपाइसकेर प्याकप्याक र च्यापच्याप भएको मुखलाई चौतारीसँगै पूर्व–दक्षिण टाँसिएर रहेको चापाकल्धारोको टुटीमा लगेर जोतेँ र देब्रे हातले घ्वान्द्र्याङ…घ्वान्द्र्याङ…धारो चलाएर पानी निकाल्दै दाहिने हातले टुटीको मुख थिची खटाई खटाई किक्लिक…किक्लिक…गर्दै पानी खाएँ धीत मर्ने गरी। चेतकान्तजीको बिस्कुट चपाउने क्रम अझै चालू नै थियो। ठीक त्यसै मौकामा त्यस चौतारीको पूर्वी डीलछेउ सारी–चोलो लगाएकी, झलल्ल परेकी गोरी र पातली अठार–उन्नाईसवर्षे एउटी नानी झुल्किइन् औँसीको भोलिपल्टको त्यस निस्पट्ट अन्धमुस्टी रातमा पूर्णेको जून भएर। सडकपारिका पसलहरूमा टिमटिमाइरहेका मधुरा बत्तीहरूको धमिलो उज्यालोको केही अंश हाम्रो भागमा पनि आइलागेको थियो वरदान बनेर। त्यसैको सहाराले चेतकान्तजीका र मेरा दुई जोर आँखा एकसाथ झ्वास्स परे नानीको जुनेली मुहारमा। त्यसपछि एक्कासी ती नानी ‘बा !’ भन्दै र उसैगरी चेतकान्तजी ‘छोरी !’ भन्दै दुवै जना सँगसँगै भावविह्वल भएर अङ्कमाल गर्न पुगे। र,चेतकान्तजीको छातीमा चपक्क टाँसिएर कोक्किँदै घुँक्क…घुँक्क…समेत गर्न लागिन् ती बिचरी ! ओहो ! उनै पो रहिछिन् चेतकान्तजीकी माहिली छोरी सङ्गीतानानी। कठै !… शतप्रतिशत यथार्थ घटना हुँदाहुँदै पनि नितान्त अयथार्थ जस्तो र सिनेमा हेरे जस्तो वा सपना देखे जस्तो पो हुन पुग्यो त्यो दृश्य मेरा निम्ति।

सम्पन्न घरकी गृहिणी बनेकी आफ्नी एउटी औरस छोरीको गाउँमा र अझ छिमेकमा नै बूढाबाबुको बाटाछेउको बरपीपल चौतारीमा त्यस्तो बिजोगको भोजन र रात्रिवासको तर्खर ! हरे, मन–मुटु नै कोक्याउने ! कति संवेद्य क्षण !

अब चेतकान्तजी छोरीको अँगालोबाट छुटेर पानी खाने उपक्रममा मैले जस्तै धाराको टुटीमा मुख जोड्न तम्सेपछि झन् नराम्ररी भक्कानिइन् सङ्गीताछोरी। र, रुन्चे बोलीमा— “बा, एकै छिन पख्‍नोस् है !” भन्दै खुर्र कुदेर छिनको छिनमै त्यहाँबाट अलप भइन्। अनि फेरि निमेषभरिमै त्यहीँ झुल्किन आइपुगिन् उनी कुनि कुन चाहिँ घरबाट हातमा स्टिलको एउटा ठूलो गिलाँस लिएर। र, आफैँले धारा चलाएर पानी भरी चेतकान्तजीको हातमा थमाइन् उनले।

त्यसरी दुई गिलाँस पानी निलेपछि आफुहरूले खाइनसकेर खोल्न बाँकी रहेका दुई पुरिया बिस्कुट छोरीको हातमा राखिदिँदै सोध्‍नुभयो चेतकान्तजीले —“मैले त खबर गर्न पनि भ्याएको होइन, आफै कसरी थाहा पाएर आयौ त नानी !” जबाफमा उनले बताएअनुसार अघि हामीलाई पिँढीबाटै निकाला गर्ने त्यसै घरका तिनै कपटी बूढाबूढीबाट खबर पाएर बाबुको मायाँमा विह्वल भई व्यग्रताका साथ भौँतारिँदै यताउती खोज्दै हिँड्ने क्रममा अनायासै त्यहाँ आइपुगेकी रहिछिन् बिचरी !

अँ त, चेतकान्तजीले धीत मर्ने गरी पानी खाइसकेपछि सङ्गीतानानी फेरि अलप भइन् गिलाँस पुर्‍याउन। र, फर्केपछि उनको बलियो आग्रहमा अब हामी अघि चौतारीमा रात काट्न भनी ओछ्याएर बसेका लुङ्गीहरू समेटेर त्यस चौतारीको अलिकति पूर्वतिर रहेको एउटा घरमा गयौँ उनीसँगै। सङ्गीताले अघि त्यो पानी खाने गिलाँस त्यहीँबाट ल्याएकी रहिछिन्। केही छिनअघि त्यसरी अचानक शरणमा आएर अचानकै फेरि स्वार्थी पाराले ती बिचरा बरपीपलका स्नेहालु जोडी र तिनको त्यस मायालु चौतारीलाई उपेक्षा गरेर त्यतिकै हिँड्दा घनघोरसित नरमाइलियो मेरो भावुक मन। र, मनमनै कृतज्ञता चढाएँ र बिदाइको अभिवादन अर्पेँ मैलेँ तिनलाई।

घरको पिँढीमा पुगेपछि हाम्रो स्वागत गर्न आइपुग्नुभयो खाइलाग्दो जीउडाल, सौम्य मुखमण्डल र तीन बीस जति उमेरका एक जना भद्र पुरुष। उहाँ नै हुनुहुँदो रहेछ सङ्गीताका मामाससुरा र चेतकान्तजीका आत्मीय मित्र एवम् आदरणीय मामासम्धीज्यू श्री रामचन्द्र घिमिरे। अघि गिलास लिन आउँदा बिचरी सङ्गीताले मन थाम्न नसकेर भक्कानिँदै उहाँलाई आफ्नो पीडा पोखिछन् र जवाफमा उहाँले “ल, मकहाँ आउन पनि किन सङ्कोच मानिबक्सेको त बुवाले ? जाऊ नानी ! उहाँलाई जसरी पनि लिएर आऊ” भन्दै हार्दिकता र सम्मानका साथ हामीलाई आफुकहाँ बोलाएर ल्याउन अह्राउनुभएको रहेछ।

भव्य रहेछ पहाडिया गाउँले ढाँचामा निर्माण गरिएको पश्चिममुखे त्यो घर। फराकिलो पिँढीमा मूलढोकाको दक्षिणपट्टि काठको उस्तै फराकिलो खाट हालिएको रहेछ र त्यसमा गुन्द्रीमाथि बुट्टे तन्नासमेत ओछ्याइको रहेछ। प्रणामपाती, भलाकुसारी र मीठो गुनासोपछि हामीलाई लगेर त्यहीँ बसाउनुभयो घिमिरेजीले।

घरमा दुई जना बूढाबूढी मात्र। त्यसमा पनि बूढीमाउ दुई–तीन दिनदेखि भुङ्ग्रे ज्वरोले निस्लोट। घिमिरेजी अत्यन्त अतिथिपरायण र श्रद्धालु स्वभावका हुनुहुँदो रहेछ तर पनि श्रीमती त्यसरी उध्धुमको ज्वरोले इन्तु न चिन्तु अवस्थामा बर्बराइरहनुभएको हुँदा उहाँको आफ्नै भातभान्सा समेत कति दिनदेखि लथालिङ्ङ रहेछ। हामीले भित्रैदेखि ‘नाइँ नाइँ’ भन्दा पनि उहाँलाई अतिथिसत्कारको तीव्र आकाङ्क्षा, अनि घरपरिवारको चाहिँ त्यस्तो संवेद्य अवस्था ! त्यसैले उहाँले त्यस छिप्पिसकेको रातीको बेलामा पनि हाम्रो स्वागत–सत्कारको निम्ति व्यग्र हुँदै घरदेखि उत्तरपट्टिका आफ्ना सँधियार र नातादार समेत रहेका नरहरि कोइरालाजीको चुलामा हाम्रो भान्साको व्यवस्था मिलाउन लगाउनुभयो। त्यस घरका पनि सबै जहान परिवार दिनभरिको मेलापातको थकाइले चूर भई फर्केकाले सम्साँझैँ खानपिन सकेर सुत्नलाई चोटामा उक्लिसकेका। तीन–चार महिनाकी सुत्केरी बुहारी चाहिँ जूठोचूलो गर्दै रहिछिन्। भित्र कोक्रोमा बच्चा च्याहाँ…च्याहाँ…गरेर मच्चिईमच्चिई रोइरहेको थियो। तर त्यस परिवारकाहरू पनि कम्ती श्रद्धालु रहेनछन्। त्यस्तो मार्मिक अवस्थामा पनि हाम्रो निम्ति भान्सा तयार गरिछाडे नरहरिजीका ती अतिथिपरायण र मायालु परिवारजनले। सङ्गीतानानीले पनि लागिमेली गरेर उनीहरूलाई सक्तो सघाइन्। र कट्याङकुटङ खानेकुराले उति सन्तोष नमान्ने चेतकान्तजीको पेटले दुई गाँस तातो दालभात पायो।

म भने खानपीनको मामिलामा अलि बेग्लै खालको मान्छे परेँ। देश–काल–परिस्थितिसापेक्षताका दृष्टिले हेर्दा सम्भवतः सजिलोसँगसँगै केही अप्ठ्यारो मान्छे पनि। किनभने खानपीनको कुरालाई सामान्य रूपमा लिँदै आएको छु मैले सानै उमेरदेखि। मलाई बिहान न बेलुका कुनै छाक पनि भातै हुनुपर्छ, या फलानो थोक नै हुनुपर्छ भन्ने त्यस्तो कुनै बानी नै बसेन। रित्तो पेट भर्ने त हो, भोकले आकुल–व्याकुल पारेको बेलामा जहाँ जे–जस्तो खानेकुरा जुर्छ त्यसै कुराले पेट भरिदिने। अघि मात्रै दुई पुरिया बिस्कुट र एक लिटर जति पानी खाएर पेट टम्मै भरिसकिएकै थियो मेरो। त्यसो हुँदा उहाँहरू सबैले जति अनुरोध र आग्रह गरे पनि अहिले भात खान जान मेरो पेट र मन दुवै नै पटक्कै तयार हुनै सकेनन्। उहाँहरूका सामु आफ्ना यिनै कुरा विनम्रतापूर्वक मैले अघि भान्साको तर्खरका बेलामा नै पनि निवेदन गरिसकेकै थिएँ र पछि भान्सामा निम्त्याइँदा पनि उही कुरा दोहोऱ्याएर म पल्टिरहेँ घिमिरेजीको त्यही पिँढी–ओछ्यानमै।

पल्लो घरमा त्यसरी दोहोऱ्याएर भान्साको काम छिनिएपछि रामचन्द्रजीले मेरो निम्ति भैँसीको दूध तताउन लगाएर ल्याउनुभयो ठूलो गिलाँसभरि। आहा…! तरसहितको बाक्लो र तात्तातो अमृततुल्य दूध ! खाइसक्न हम्मेहम्मे नै पऱ्यो मलाई। त्यसपछि रामचन्द्रजी, नरहरिजी, नरहरिजीकी आमा, सङ्गीतानानी, चेतकान्तजी र म हामी यति छ जना रामचन्द्रजीको त्यही पिँढी–खाटको ओछ्यानमा बस्यौँ पलेँटी कसेर। रामचन्द्रजी संस्कृत र नेपाली साहित्यमा निकै अभिरुचि र दखल समेत भएका गुणग्राही स्वभावका व्यक्ति हुनुहुँदो रहेछ। उहाँलाई चेतकान्तजी छन्दका राम्रा कवि हुनुहुन्छ भन्ने कुरा त पहिलेदेखि नै थाहै थियो। अनि अघि मेरो परिचय गराउने क्रममा चेतकान्तजीले मेरो बारेमा अनेक फूलबुट्टा भरिदिनुभएकाले म पनि उहाँहरूकै ड्याङ्को मुला हुँ भन्ने कुरा समेत थाहा भएको हुँदा अब उहाँको हार्दिक आग्रहमा त्यहाँ निकै बेर संस्कृत र नेपाली साहित्यका विविध प्रसङ्गबारे छलफल चल्यो हाम्रो। साथै पालैपालो चल्यो चेतकान्तजीको र मेरो विभिन्न वार्णिक छन्द र लोक लयका कविता र गीतिकविताको गायन–क्रम समेत। एघार बजेतिर सङ्गीता हामीसित बिदा भएर आफ्नो घर गइन्। कसैले पुर्‍याइदियो उनलाई। हामी भने फेरि पनि काव्य–गान र काव्य–पानमा नै रमाइरह्यौँ रामचन्द्रजी र नरहरिजीको अनुरोधमा। नरहरिजी र उहाँकी वृद्धा आमा पनि साह्रै मिजासिला, फरासिला, हार्दिकतासम्पन्न र काव्यप्रेमी व्यक्ति हुनुहुँदो रहेछ। खूब रमायौँ हामी दोहोरो तृप्तिको सागरमा डुबुल्किन पाएर। राति एक बजे बल्ल हाम्रो काव्य बैठकको समापन भयो सबैलाई निद्राले झुपुझुपु पार्दै ल्याएपछि।

त्यसपछि घिमिरेजीले आफ्नो चोटाको कोठाबाट सुकिला र आरामदायी डस्ना, तकिया र ओढ्ने ल्याएर त्यही खाटमा हाम्रो सुकलाको राम्रो व्यवस्था मिलाइदिनुभयो।

केही घण्टाअघिसम्म चिन्नु न जान्नुको म पनि छिनको छिनमै अत्यन्त निकट भइसकेको थिएँ र अतिथिबाट प्रिय आत्मीय समेत बनिसकेको थिएँ उहाँहरूको। लाग्थ्यो, कहाँ हौँ र हामी नवपरिचित, हामी त जुनी–जुनी–जुनीदेखिका आफन्त पो हौँ। त्यसरी अत्यन्त प्रभावित भएँ म पनि रामचन्द्रजीको र नरहरिजीको त्यस निश्छल, निर्मल स्नेह–सान्निध्यबाट।

हरे ! कहाँ निःसहाय र निरुपाय अवस्थामा बाटाको बरपीपल चौतारीमा लुङ्गी ओछ्याएर खुला आकाशमुनि लम्पसार पर्न तर्खराएका केही घण्टाअघिका हामी ! अनि कहाँ यो श्रद्धा, स्नेह र हार्दिकताको चरम आनन्दमय त्रिवेणीमा डुबुल्किरहेका अहिलेका हामी ! आकाश–पातालको अन्तर ! सत्ते ! सत्ते ! मलाई एकदमै सपनातुल्य लागे आजको एक रातका यी आफ्ना नितान्त विपरीत दुई अनुभूतिका क्षणहरू।

“धूप थी नसीब में तो धूप में लिया है दम
चाँदनी मिली तो हम चाँदनी मेँ सो लिए”

आहा ! हिन्दी फिल्मी गीतको यो अंश आजको एकै रातमा र त्यो पनि लगत्तै केही घण्टाको अन्तरालमा नै पूरै सार्थक हुन आएको थियो हाम्रो जीवनमा एकदमै अप्रत्याशित रूपले।

भोलिपल्ट बिहान छ बजे नारायणघाटका लागि हुइँकने अघिको हाम्रो बस हामीलाई बरपीपल चौतारीछेउ ओरालिदिएर आफु चाहिँ यहीँ घिमिरेजीकै आँगननजिकै आएर बास बसेको रहेछ। यो अर्को थप आनन्दको कुरा थियो हाम्रा निम्ति।

राति जतिसुकै ढिलो सुतेको भए पनि भोलिपल्ट बिहान पाँच बजे उठेर तयार भयौँ हामी। आदरणीय घिमिरेजीले साढे पाँच बजे फेरि टक्र्याउनुभयो बडो प्रेमले हिजो राति जस्तै बाक्लो, गुलियो र तात्तातो दूध हामी दुवैलाई। खै कति बेला पो उठेर, भैँसी दुहेर दूध तताइपनि सक्नुभएछ उहाँले ! कस्तो फूर्ति र जाँगर यो साठीको छेउछाउको उमेरमा पनि ! अँ त, त्यो अमृत–रस पेटभरि पान गरेर फेरि पनि तृप्त भयौँ हामी। र, उहाँप्रति कृतज्ञता चढायौँ भावाकुल भएर हामीले। त्यसपछि ठीक छ बजे खुल्यो बस र त्यसको अघिल्लो आरामदायी आसनमा ढलिमली गरी आसीन भएर आनन्दले गुड्यौँ गीतानगरतिर।
०००