निर्मलाका १० महिना- चिक्तबुझ्दो प्रमाण फेला परेन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

निर्मलाका १० महिना- चिक्तबुझ्दो प्रमाण फेला परेन



काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार १० महिना पूरा भएको छ । हत्या भएको १० महिना बित्दा पनि घटनाका अभियुक्तको पहिचान हुन सकेको छैन ।

राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा चासोको विषय बनेको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । प्रहरी अधिकारी नै बर्खास्तदेखि निलम्बनसम्म परेको निर्मला हत्याकाण्डको अनुसन्धानमा अभियुक्तसम्म पुग्ने चिक्तबुझ्दो प्रमाण भने फेला पर्न सकेको छैन ।

घटनाको समयमा महेन्द्रनगरमै रहेर स्वदेश तथा विदेशमा रहेका व्यक्तिमाथि समेत अनुसन्धान थालिएको छ । विभिन्न चरणमा विभिन्न टोलीले अनुसन्धान गरेपनि छानबिन अझै निष्कर्षमा पुगेको छैन । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल अनुसन्धान जारी रहेको र प्रहरी सफल हुने विश्वास व्यक्त गर्छन् । ‘‘प्रहरी अनुसन्धानमा ढिलोचाँडो सफल हुन्छ । अपराधी कानुनको दायरामा ल्याएरै छाड्छौं । हरेक अपराधका घटनालाई प्रहरीले गम्भीरतापूर्वक हेरेर पूर्ण व्यावसायिकताका साथ अनुसन्धान गर्छ,” डीआर्ईजी पोखरेलले भने ।’’

बलात्कार र हत्या घटनाको छानबिन निष्कर्षमा पुर्याउने माग गर्दै परिवार र अधिकारकर्मीले शुक्रबार कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयको गेटमा धर्नासमेत दिए । अधिकारीकर्मीले जिल्ला प्रहरी कार्यालयकै गेटमा ‘निर्मलालाई न्याय दे’ लेखिएको पोस्टर टाँसे । धर्नामा निर्मलाका बुबा यज्ञराज देखिए पनि आमा दुर्गादेवी भने उपस्थित भइनन् ।

आमा दुर्गादेवीले यसअघि नै सरकारले घोषणा गरेको राहत रकम बुझेकी थिइन् । दुर्गादेवीले संघीय सरकारबाट १० लाख, प्रदेश सरकारबाट ५ लाख र भीमदत्त नगरपालिकाबाट ३ लाख रकम विभिन्न समयमा बुझेकी हुन् । यज्ञराज र अधिकारकर्मीहरुले उक्त रकम नबुझ्न दुर्गादेवीलाई दबाब दिँदै आएका थिए । अनुसन्धानका क्रममा ५० भन्दा बढी व्यक्तिको डीएनए परीक्षण गरिएको छ ।

गत साउन १० गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । उनको उखुबारीमै बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ । प्रहरीले गत भदौ ४ मा मुख्य अभियुक्तको रुपमा भीमदत्त–२ बागफाँटाका दीलिप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्केको थियो । दीलिपको डिएनए म्याच नभएपछि उनी थुनामुक्त भएका थिए । तर, दीलिपका गतिविधि अझै पनि शंकास्पद रहेको प्रहरी अधिकारी बताउँदै आएका छन् ।

स्थानीयको आन्दोलन चर्किएपछि भदौ ७ र ८ मा भएको प्रदर्शनमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय शनि खुनाको मृत्यु भएको थियो । घाइते अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको एक खुट्टा काटेर फालिएको छ भने होस अझै खुलेको छैन ।