निर्मलाकी आमा भन्छिन: अपराधी यतै घुमिरहेको जस्तो लाग्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मलाकी आमा भन्छिन: अपराधी यतै घुमिरहेको जस्तो लाग्छ



बीबीसी- आफ्नी छोरी निर्मला पन्तको हत्याबारे सत्यतथ्य बाहिर ल्याइनुपर्ने माग निर्मलाकी आमा दुर्गादेवी पन्तले दोहोर्‍याएकी छन्।

बीबीसी नेपालीसँगको अन्तर्वार्तामा उनले आफ्नी छोरीको हत्या बारेको यथार्थ बाहिर आउनुपर्ने बताइन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ध्यान तानेको यो हत्याकाण्डमा गम्भीर रूपमा अनुसन्धान गर्न विफल भएको भनेर प्रहरी र गृह प्रशासनले अलोचना खेप्दै आएका छन्।

हालै गृहमन्त्री रामबहादुर थापाले प्रहरीको बचाउ गर्दै पन्तको हत्यालाई ‘राजनीतिकरण’ गरिएको बताएका थिए।

न्यायको लडाइँ

निर्मलाको घरमा विगतको जस्तो भिडभाड छैन।

उनकी आमा दुर्गादेवी पन्त भीमदत्त नगरपालिका अन्तर्गत महिला बालबालिका शाखामा डेढ महिनादेखि कार्यालय सहयोगीको रूपमा काम गरिरहेकी छन्।

उनले पीडा भुल्ने प्रयास गरिरहेको भए पनि छरछिमेकमा सुनिने नानाथरी कुराले पीडाको बोझ हलुका हुन नसकेको बताइन्।

उनले आफ्नी छोरीको हत्याबारे सत्यतथ्य बाहिर नआउँदा आफूलाई अझै पीडा भइरहेको बताइन्।

उनले भनिन्, “मलाई अपराधी यतै घुमिरहेको छ कि भन्ने लाग्छ। सत्यको पक्ष लिएर अपराधी को हो साँचो भनिदिए हुन्थ्यो।”

डीएनए परीक्षण लगायत विभिन्न किसिमका अनुसन्धान विधिको प्रयोग गरिदा समेत निर्मला हत्या प्रकरण सुल्झाउन प्रहरी अझैसम्म विफल रहँदै आएको छ।

निर्मलाकी आमाले आफ्नो न्यायको अभियानमा साथ दिने सबैलाई धन्यवाद पनि दिएकी छन्।

“अवाज उठाउने सबैलाई धन्यवाद दिन्छु, प्रहरी प्रशासनले कानुनी कठघारामा नउभ्याए पनि धेरैले आवाज उठाए। कति जना घाइते भए, कोही शहीद भए। मलाई धेरै दुःख लागेको छ।”

निर्मलाकी दिदी मनिषाले एक वर्षदेखि परिवारले धेरै पीडा खेपेको बताइन्।

उनले परिवारले राहत बुझेको विषयलाई लिएर मुद्दालाई कम प्राथमिकता दिन खोजिएको गुनासो गरिन्।

“अझै पनि सूक्ष्म अनुसन्धान भयो भने अपराधी पत्ता लाग्न सक्छ,” उनले भनिन्।

गृह प्रशासनको आलोचना

यो प्रकरणलाई लिएर प्रहरी एवम् गृह प्रशासनको पेशागत दक्षता तथा जवाफदेहितासम्बन्धी प्रश्न उठिरहेका छन्।

अनुसन्धानसँग जोडिएका कतिपय प्रमाण नष्ट गरेको आरोपमा कतिपय प्रहरी अधिकारी निलम्बित गरिएका थिए।

यो प्रकरणपछि आफ्नो जिम्मेवारीमा खरो उत्रिन नसकेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेको छ।

तर यसै हप्ता आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबाहादुर थापाले निर्मला पन्तको हत्यालाई ‘राजनीतिकरण’ गरिएको टिप्पणी गरे।

उनले भनेका थिए, “निर्मला घटनाका प्रकरणहरू योभन्दा अघि पनि थिए। आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ। हामी जुन ढङ्गको अवस्थामा छौँ त्यस किसिमको अपराधलाई पूर्ण रूपमा हामी निषेध गर्न सक्दैनौँ।”

“तर यसलाई जसरी राजनीतिकरण गरिएको छ त्यो चाहिँ दुःखद हो।”

अधिकारकर्मीहरूले गृहमन्त्रीको अभिव्यक्तिले गम्भीर प्रकृतिको अपराधप्रति उपयुक्त संवेदनशीलता प्रस्तुत गर्न नसकेको र पीडित परिवारलाई थप पीडा दिएको प्रतिक्रिया दिएका थिए।

सरकार कति जवाफदेही?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान तानेको उक्त हत्याको अनुसन्धानमा भएको प्रगतिबारे अझै पनि सरकारले आफूलाई जानकारी नगराएको शुक्रवार राष्ट्रिय मानवअधिकार आयोगले बताएको थियो।

आयोगका अनुसार निर्मला पन्त अनुसन्धानका सम्बन्धमा उसले सरकारलाई पाँच महिनाअघि नै दिएको सिफारिससहितको निर्देशनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कुनै जवाफ प्राप्त भएको छैन।

त्यस सम्बन्धमा ताकेता गर्दै यथाशीघ्र जानकारी गराउन पुन: सरकारलाई पत्राचार गरिएको आयोगले जनाएको छ।

निर्मला हत्यापछि कञ्चनपुरमा ३ महिनासम्म बन्द‚ हडताल र प्रदर्शन चर्किएको थियो र त्यसक्रममा प्रहरीको गोलीबाट एक युवकको ज्यान जानुको साथै कैयौँ घाइते भएका थिए।