निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा



कञ्चनपुर (रासस) । कांग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको बताए ।

फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थिर सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताए ।

कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए ।

‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् ।’ उनले भने, “तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पुर्‍याउँछु ।’

उनले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल कांग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए ।