निर्मला हत्या प्रकरणको एक बर्ष : अझै पत्ता लागेन हत्यारा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

निर्मला हत्या प्रकरणको एक बर्ष : अझै पत्ता लागेन हत्यारा



उल्टाखाम (कञ्चनपुर) । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।

निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै बल्झिँदै गएको उनका आमा–बुबा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बिते पनि अझै न्याय पाउन नसक्दा पीडा थपिँदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। ‘निर्मला हत्याको वर्ष दिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता लगाउन सकेन,’ उनले नागरिक संवाददातासँग भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा वर्ष दिनसम्म पनि पीडा आलै छ।’ निर्मलाको यादले रातभर पोलिरहने बताउँदै उनले थपिन्, ‘निर्मलाकै यादमा रुँदारुँदै आँसु पनि सकियो।’ हत्यारा पत्ता लागे आफूले न्याय पाएको महसुस हुने उनी बताउँछिन्।

निर्मला हत्याको एक वर्षसम्म आफूले सरकारसँग न्याय मागेको उनका बुबा यज्ञराज बताउँछन्। ‘मैले सुरुदेखि नै सरकारसँग अरु केही मागिनँ, मात्र न्याय मागें,’ उनले भने, ‘हत्याको एक वर्ष बितिसक्दा पनि न्याय नै पाइएन।’ अपराधी पत्ता लागेर छोरीको कसरी हत्या भयो भन्ने थाहा पाएको भए सन्तुष्टि हुने उनी बताउँछन्। ‘हत्यारा पत्ता लाग्यो, उसलाई जेल सजाय भयो भनेर आत्मसन्तुष्टि हुन्थ्यो,’ यज्ञराजले भने, ‘हत्यारा पत्ता नलाग्दा छोरीको आँसुले पोलेको महसुस हुन्छ।’

आफूले असम्भव कुरा नमागेको बताउँदै उनले भने,‘मैले निर्मलालाई ज्यूँदो बनाइदेऊ भनेर त माग गरेको छैन, हत्यारालाई खोजेर कानुनी दायरामा ल्याइदेऊ भनी एउटै माग गरेको हुँ।’ निर्मला हत्याको अनुसन्धान शून्य रहेको उनी बताउँछन्। ‘सरकारले निर्मलाको हत्यारा पत्ता लगाउने आश अब मरिसक्यो,’ उनले भने, ‘न्यायको भिख मागिरहेको छु, सरकारले न्याय दिन नसक्ने भए हामीलाई पनि मारिदिए हुन्थ्यो।’ हरेक पटक जिल्ला प्रहरी कार्यालय पुग्दा आज यतिजनाको रगत जाँच गरियो, भोलि यतिको भनी प्रहरीले संख्या सुनाउने काममात्रै गरेको उनले बताए।

निर्मलाको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु दुःखद भएको छिमेकी मञ्जु भट्ट बताउँछिन्। उनले भनिन्, ‘कस्ताकस्ता घटना त पत्ता लाग्छन् तर निर्मलाको हत्यारा अहिलेसम्म पत्ता किन लागेन ?’ उनले निर्मलाको हत्यामा ठूलै व्यक्तिको हात हुन सक्ने आशंका गरिन्। ‘निर्मलाको हत्यामा गरिब व्यक्ति संलग्न हुन्थ्यो भने अहिलेसम्म समातिइसक्थ्यो,’ उनले भनिन्, ‘एक वर्ष बितिसक्दा पनि निर्मलाको हत्या अनुसन्धानकै गर्वमा रहनु पनि शंकाको घेरामा छ।’

निर्मला पढ्ने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डे प्रहरीको प्रभावकारी अनुसन्धान नहुँदा हत्यारा पत्ता लाग्न नसकेको बताउँछन्। अधिकारकर्मी मीना भण्डारीले अहिलेसम्म सरकारकाले अपराधी सार्वजनिक गर्न नसक्नुमा आशंका जन्मेको बताइन्। उनले भनिन्, ‘प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्छ तर उपलब्धि केही देखिँदैन।’ अर्की अधिकारकर्मी हेलेन श्रेष्ठले पीडित पक्ष नै कमजोर भएका कारण निर्मलाको न्यायको आवाज कमजोर भएको बताइन्। ‘न्याय र सत्यभन्दा पनि आर्थिक चलखेलले प्रभाव पार्ने प्रवृत्ति देखिँदा मन निराश हुन्छ,’ उनले भनिन्, ‘पैसाले धारणा बदलिने प्रवृत्ति बढेकाले न्यायका पक्षमा आन्दोलन गर्न र बोल्न पनि मन लाग्न छोड्यो।’ आजको नागरिक दैनिकका लागि उल्टाखामबाट दिलबहादुर छत्याल र पुष्पराज जोशिले यो समाचार लेखेका छन् ।