निर्मला हत्याकाण्ड : प्रदीप रावल र विशाल चौधरी निर्दोष भएका प्रमाण सार्वजनिक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्मला हत्याकाण्ड : प्रदीप रावल र विशाल चौधरी निर्दोष भएका प्रमाण सार्वजनिक



महेन्द्रनगर । निर्मला हत्याकाण्डमा नेपाल प्रहरीले फेरि पनि जालझेल र तिकडम गर्न लागेको पाइएको छ । यसपटक भने प्रहरीको केन्द्रीय नेतृत्वले नै नक्कली (प्रायोजित) अभियुक्त खडा गरेर हत्याकाण्डलाई किनारा गर्ने कोसिस गरेको छ । पक्राउ परेका दुई किशोरले हत्याकाण्डमा संलग्नता स्वीकारिसकेका भन्दै प्रहरीले केही सञ्चारमाध्यममा जानकारी चुहाएको छ । काठमाडौंबाट प्रकाशित हुने एक अखबार केही अनलनइनले १७ वर्षीय प्रदीप रावल र १४ वर्षीय विशाल चौधरीको डीएनए परीक्षण भइरहेको बताएका छन् । दुबैजनालाई केही दिनमैं निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगसहित सार्वजनिक गरिने समाचार प्रहरीले चुहाएको छ ।

प्रहरीले विभिन्न च्यानल प्रयोग गरी प्रदीपको डीएनए मिलिसकेको र एकदुई दिनमैं दुबैजनालाई सार्वजनिक गर्ने हल्ला पनि फिजाइरहेको छ । आश्यर्च त के भने उनीहरुको डीएनए परीक्षण एक साताभन्दा कम समयमैं हुने शैलीमा प्रहरीले अनाधिकारिक च्यानलबाट प्रचार गरिरहेको छ । एसपी विष्ट, आयुस र किरणको डीएनए जाँच हुने बेला उपलब्ध प्रविधिअनुसार डीएनए परीक्षण गर्न नेपालमा कम्तीमा १२ दिन लाग्ने बताइएको थियो ।

तर, प्रदीप र विशालको हत्याकाण्डमा संलग्नता रहेको प्रहरीको दावी गलत प्रमाणित हुने पूरापूर सम्भावना देखिएको छ । निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीप वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका पाइएको छ । विशाललाई पनि प्रहरीले सोही दिन अपरान्ह ४ बजे उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । दुबैजनामाथि कुखुरा चोरेको आरोप लागेको थियो । पोष्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या त्यस दिन दिउँसो करिब ३ बजेपछि भएको थियो ।

प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए ।

प्रहरीको औपचारिक स्तरबाट प्रदीप र विशालका बारेमा कुनै जानकारी प्रवाह गरिएको छैन । काठमाडौंबाट प्रकाशित समाचारप्रति पनि प्रहरीले कुनै प्रतिक्रिया गरेको छैन । यसबाट प्रकाशित समाचारमा प्रहरी सहमत भएको बुझिन्छ । नयाँपत्रिका दैनिकमा प्रकाशित समाचारका अनुसार प्रहरीको केन्द्रीय नेतृत्वसमेत फर्जी अभियुक्त तयार गरी वास्तविक अपराधी लुकाउन चाहन्छ भन्ने दावी गर्न सकिन्छ । साभार : मानसखण्ड डक कम