लिम्पियाधुरा राखेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

लिम्पियाधुरा राखेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन



काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन गरेको छ। समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन गरेको हो ।

समितिले नेपाल–भारत प्रबुद्ध व्यक्ति (इपीजी)ले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।समितिले नेपाल–भारत सीमामा स्थायी सुरक्षा व्यारेक स्थापना गर्न पनि सरकारलाई भनेको छ ।

संसद सचिवालय सिंहदरबारमा बसेको समिति बैठकले सरकारका मन्त्रीहरूसँगको छलफलपछि सरकारलाई १० बुँदे निर्देशन दिने निर्णय गरेको हो । हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी नदीसम्मको भूभाग समावेश गरी नयाँ नक्सा जारी गर्न निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्धारण गर्नुका साथै हालसम्म प्रचलनमा रहेको ल्याइएको नक्सामा लिम्पियाधुरा र महाकाली नदीसम्मको भूभाग समावेश गरी नयाँ नक्सा तयार पार्ने’ पनि समितिको निर्देशनमा भनिएको छ ।

कालापानी क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न सरकारलाई निर्देशन दिएको छ । ‘लिम्पियाधुरा महाकाली नदी पूर्वको भूभाग नेपालको हो भन्ने भौगोलिक र ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्दै उक्त क्षेत्रमा नेपालको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक पहल गर्न’ समेत निर्देशनमा भनिएको छ ।