सीधै गोली हान्ने अधिकार सहित २ लाख सुरक्षाकर्मी चुनावमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सीधै गोली हान्ने अधिकार सहित २ लाख सुरक्षाकर्मी चुनावमा



२१ मंसिर, काठमाडौं ।

४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।

चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी  र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।

निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चुनावमा कुनै घटना भइहालेमा कममा पााच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ ।