निर्वाचनमा जाने सरकारको कदम निरंकुश हुनै सक्दैन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

निर्वाचनमा जाने सरकारको कदम निरंकुश हुनै सक्दैन



काठमाडौं- राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा दाहालले पहिलोपटक विघटित प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे ।

उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग पनि जनतामा जाने हिम्मत नभएको आरोप लगाए । उनले भने, ‘विपक्षीहरू कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन ।’

उनले संसदीय अभ्यासको नाममा गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे ।

उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुप-यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे ।

सरकारले कोभिडको दोस्रो लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे ।

संसदीय प्रणालीमा राष्ट्रिय सभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभाविना राष्ट्रिय सभाले कुनै पनि ऐन बनाउन नसक्ने उनले बताए । बाढीपहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनस्र्थापनाको माग गरे ।