पुडासैनी प्रकरण :निमा गिरीले गर्ने भईन अस्मिताको पक्षबाट निःशुल्क वकालत - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पुडासैनी प्रकरण :निमा गिरीले गर्ने भईन अस्मिताको पक्षबाट निःशुल्क वकालत



काठमाडौं। शालिक राम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेलसँगै पक्राउ परेकी स्वास्थ्य परिचारिका अस्मिता कार्की (रुकु) को पक्षबाट वकालत गर्न अधिवक्ता निमा गिरीले चासो देखाएकी छिन्।

अस्मिता कार्कीले आफ्नो पक्षमा वकालत गर्ने वकिल नपाइको कुरा सार्वजनिक भएपछि अधिवक्ता गिरीले उनको पक्षबाट वकालत गर्ने बताएकी हुन्।

परिवारका सदस्यहरु पनि अस्मिताबाट टाढा रहनुपर्ने अवस्था नरहेको भन्दै गिरीले उनको पक्षबाट अदालतमा आफूसहितको अधिवक्ताहरुको टीम निःशुल्क वकालत गर्न तयार रहेको बताएकी छिन् ।

न्यूज २४ सँग आवद्ध रवि लामिछाने, युवराज कँडेलको पक्षमा वरिष्ठ अधिवक्ता शुसिल पन्त, सुनिल पोखरेल सहितका अधिवक्ताहरुले वकालत गरिरहेका छन्।

तर सोही प्रकरणमा पक्राउ परेर हिरासतमा रहेकी कार्कीले वकालत गर्ने वकिल नपाएको कुरा सार्वजनिक भएसँगै गिरीले आफू उनको पक्षबाट वकालत गर्ने स्पष्ट पारेकी हुन्।

मृतक पुडासैनीले आफ्नी श्रीमतीको दुर्घटनामा परी निधन भएको झुटो कुरा भनेर प्रेमजालमा पारेपनि पछि सत्य तथ्य थाहा पाएपछि सम्बन्ध तोडेको बताएकी अस्मितालाई आफ्नो सुसाइड भिडियो सन्देशमा उनले आरोप लगाएका थिए।

पुडासैनीले आफ्नो आत्महत्यामा रवि, युवराज र अस्मितालाई आरोपित गरेका थिए। सोहि आरोपका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएको छ। जिल्ला अदालत चितवनले उनीहरुलाई दुई पटक म्याद थपि १० दिनका लागि हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको छ।