जनयुद्धका घाइतेहरू एनजीओका पछाडी नलाग्नु होला, सरकारले छिट्टै केहि गर्छ: प्रचण्ड - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जनयुद्धका घाइतेहरू एनजीओका पछाडी नलाग्नु होला, सरकारले छिट्टै केहि गर्छ: प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाको पछि नदौडन आग्रह गरेका छन् ।

शान्तिप्रक्रियाका बाँकी काम नटुंगियोस् भनेर केही विदेशी संघ–संस्थाले जनक्रान्तिका घाइते, योद्धा, पीडित पक्षलाई सानोसानो समूहमा फुटाल्ने, खुवाउने, पियाउने गरेको र मोटो रकम बुझाउने गरेको उनले आरोप लगाए ।

“जनक्रान्तिका घाइते, अपाङ्गता भएकाहरू तपाईंहरू आईएनजीओ, एनजीओले यहाँ जानुपर्‍यो, त्यहाँ जानुपर्‍यो, यसो गर्नुपर्‍यो भनेछन् भने तिनीहरूको पछि नलाग्नूहोला,” जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले भने, “जे हुने हो नेपाल राज्य, यहाँका राजनीतिक दलले नै गरेर हुने हो ।”

शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन दुवै आयोग (सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन) गठन भएकाले परिपूरण राहत दिने ठाउँमा राजनीतिक दलहरू आइपुगेको पनि जानकारी गराए ।

“ढिलो त भयो । शान्तिप्रक्रिया टुंग्याउन, संविधान बनाउन ढिला भयो । हामीले शान्ति सम्झौतामा जे परिकल्पना गरेको हो त्यो अनुसार सम्बोधन हुन्छ । अबचाहिँ छिटो हुन्छ । हुने परिस्थिति बनेको छ,” उनले भने ।

विगतमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा पार्टीहरूबीच अन्तरविरोध भएकाले, एकले अर्कालाई दोषापोरण गर्ने अवस्था विद्यमान रहेकाले घाइते, अपाङ्गता भएकाले परिपूरण पाउन नसकेको बताए ।

अहिले त्यो अवस्था नरहेको सबै राजनीतिक दलहरूका बीचमा सहमति बनेको उनको भनाइ थियो ।