गुठी साउथ अस्ट्रेलियाको 'नेवा: भ्वय' कार्यक्रम हुँदै - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

गुठी साउथ अस्ट्रेलियाको ‘नेवा: भ्वय’ कार्यक्रम हुँदै



 

अष्ट्रेलिया।

साउथ अष्ट्रेलियाको एडीलेडमा, गुठी साउथ अस्ट्रेलियाले ‘नेवा: भ्वय’ कार्यक्रम आयोजना गर्ने भएको छ। नयाँ वर्षको आगमनसँगै विशेष गरी  भक्तपुरको नेवारी समुदायको  प्रसिद्ध ऐतिहासिक, सांस्कृतिक एवम् तान्त्रिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्राको अवसर पारेर अप्रिल १४ तारिखको दिन बेलुका ४ बजे देखि ८ बजे सम्म ‘नेवा: भ्वय’कार्यक्रम आयोजना गर्न लागेको गुठी साउथ अष्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले जानकारी दिएका छन्।

करिब १ सय व्यक्तिहरूलाई  लक्षित गरिएको उक्त कार्यक्रममा नेपाली मात्र नभएर यहाँको अन्य समुदायको समेत उपस्थिति रहने  श्रेष्ठले बताए। पर्यटन विकाशमा  खानाको समेत भूमिका रहेको बताउँदै श्रेष्ठले  भने ” नेवारी समुदायमा  शाकाहारी र मासुका दुवै परिकारहरू धेरै छन् ती परिकारहरूको संवर्धन गर्दै यहाँको समुदायलाई समेत खानाको माध्यम बाट हाम्रा खानाहरू  चिनाउन यस प्रकारको कार्यक्रमहरूले भूमिका खेल्छ ,सोही प्रयासको थालनी  गुठी साउथ अष्ट्रेलियाले गर्दैछ। ”

कार्यक्रममा ४० डलर शुल्क राखिएको छ भने ५ देखि १२ वर्ष सम्मका बालबालिकाहरूको लागि २० डलर  र ५ वर्ष मुनिका बालबालिकाहरूको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।   उक्त कार्यक्रम बाट संकलित रकम, गुठीले संस्थाको सांस्कृतिक गतिविधिमा आवश्यक सामग्री , प्रशिक्षण र परोपकारी काममा प्रयोग गर्ने बताएको छ।  कार्यक्रममा ग्रेस इन्टरनेशनलको मुख्य प्रयोजन रहेको छ भने नेपाल टुरिजम बोर्ड र गैर आवासीय नेपाली सङ्घ साउथ अष्ट्रेलियाको  सहकार्य रहेको छ।