नयाँ प्रस्ताव बोकेर बालुवाटार पुगे प्रचण्ड-नेपाल - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

नयाँ प्रस्ताव बोकेर बालुवाटार पुगे प्रचण्ड-नेपाल



काठमाडौं– सत्ता गठबन्धनको बैठक बस्नुअघि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूले खुमलटारमा छलफल गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुको बैठक बसेको हो।

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहित झलनाथ खनाल, अशोक राई लगायतका नेताहरुको बैठक बसेको हो।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ प्रस्ताव लिएर आफूहरू बालुवाटार जान लागेको बताए । उनले एमसीसीको कुरामा अब नयाँ प्रस्ताव ल्याउने बताए ।

‘गठबन्धन दलको आजको बैठक अघि हामीले साझा धारणा बनाउन छलफल गरेका हौं,’ सहभागी एक नेताले भने,‘एमसीसीका विषयमा हाम्रो साझा धारणा नै बनेको छ। आजको बैठकमा पनि हामी त्यसै अनुसार प्रस्तुत हुन्छौं।’

उनका अनुसार यथास्थितिमा नै एमसीसी अनुमोदन गर्न नसकिने तीन दलको निष्कर्ष रहेको छ। सरकारको तर्फबाट प्रधानमन्त्रीले जबरजस्ती टेबल गर्न खोजे आफूहरु पनि त्यसै अनुसार प्रस्तुत हुने मोटामोटी सहमति भएको उनले जानकारी दिए।

खुमलटारमा छलफल सकेर अहिले नेताहरु बालुवाटार पुगेका छन्। अब केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने छ। यसअघि बिहीबार साँझ पनि बैठक बसेको थियो।

तर, कुनै निष्कर्ष निस्कन सकेको थिएन। आजै दिउँसो प्रतिनिधिसभाको बैठक पनि बस्ने भएकाले अहिले बिहान बस्ने गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ।