२१ वटा नयाँ दलले पाए चुनाव चिह्न: कसको चिह्न के ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

२१ वटा नयाँ दलले पाए चुनाव चिह्न: कसको चिह्न के ?



काठमाण्डौ – निर्वाचन आयोगले बिहीबार २१ वटा नयाँ दललाई चुनाव चिह्न प्रदान गरेको छ । आउदो मंसिर १४ गते हुने उपचुनावमा विभिन्न २१ वटा नयाँ दलले चुनाव चिह्न प्राप्त गरेका हुन् ।

तीनै तहको चुनावमा सहभागी भएका दललाई त्यो बेला प्रयोग भएकै चुनाव चिह्न यथावत रहने र त्यसपछि बनेका दलहरुलाई भने अहिले चुनाव चिह्न प्रदान गरेको आयोगले जनाएको छ ।

कसलाई के चिह्न ?

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सूर्य चिह्न प्राप्त गरेको छ । यसअघि यो चिह्न एमालेले प्रयोग गर्दै आएको थियो । तीनै तहको चुनावपछि यो दुवै दल एकीकरण भएर नयाँ दल निर्माण भएकाले आयोगले अहिले चुनाव चिह्न दिनुपरेको हो ।

निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र पनि यथावत नै छ । उसले यसअघि प्रयोग गर्ने गरेको चुनाव चिह्न हँसिया हथौडा नै प्राप्त गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र एमालेसँग एकीकरण गर्ने निर्णय गरेसँगै तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किँरातीले पुरानै नाममा दल दर्ता गर्नुभएको हो । किँरातीले ‘प्रचण्ड’ले पार्टी छाडेर गएको भन्दै माओवादी पार्टी आफूले बचाइराख्ने भन्दै दल दर्ता गराउनुभएको थियो ।

यस्तै निर्वाचन आयोगले संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीलाई पाँच औलासहितको हत्केला चुनाव चिह्न दिएको छ ।

यस्तै रवीन्द्र मिश्र नेतृत्वकाे साझा पार्टीले तराजु, नेपाल परिवार दलले साँचो, जनमत पार्टीले लाउडस्पिकर चुनाव चिह्न पाएको छ ।

साझा विवेकशील पार्टीको रुपमा प्रदेश र प्रतिनिधिसभामा सहभागी भएको भए पनि चुनाव सकिएपछि फुटेकाले नयाँ दलको रुपमा दल दर्ता गरेर चुनाव चिह्न लिएको हो ।

नेपाल परिवार दलले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तत्कालिन एमालेसँग सहकार्य गर्दै उसैको चुनाव चिह्नमा चुनाव लडेको थियो । तर अहिले नयाँ दल दर्ता गरेर चुनाव चिह्न लिएको हो ।

अलग मधेसको माग गर्दै आएका सिके राउत नेतृत्वको समूहसँग सरकारले वार्ता गर्दै शान्तिपूर्ण राजनीतिमा ल्याएपछि उसले पनि आयोगमा नयाँ पार्टीको रुपमा जनमत पार्टी दर्ता गराउँदै चुनाव चिह्न लिएको हो । उसले लाउडस्पिकर चुनाव चिह्न पाएको छ ।

यस्तै आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढे गोरु चुनाव चिह्न पाएको छ । आफ्नो जस्तै देखिने चुनाव चिह्न दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसको विरोध गरेको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले निर्वाचन आयोगलाई आफ्नो पार्टीको जस्तै देखिने चुनाव चिह्न नदिन आग्रह गरेको भए पनि आयोगले उस्तै देखिने चुनाव चिह्न दिएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न उसले पहिले प्रयोग गर्दै आएको गाई छाप छ । यो पुरानै पार्टीको रुपमा रहेकाले नयाँ दलको रुपमा दर्ता गर्नु नपरेको पनि उहाँले बताउनुभयो ।

आयोगले नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (नेपाल), नेपाली कांग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)लाई नयाँ चुनाव चिह्न प्रदान गरेको हो ।

नेपाली कांग्रेस, राप्रपालगायत तीनै तहको चुनावमा भाग लिएका पार्टीले भने नयाँ चुनाव चिह्न लिन नपर्ने र पुरानै चुनाव चिह्न पाउने आयोगले जनाएको छ ।