प्रहरी प्रमुख फेर्ने तयारी, को बन्लान् नयाँ आईजिपी ? - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रहरी प्रमुख फेर्ने तयारी, को बन्लान् नयाँ आईजिपी ?



काठमाडौँ- स्थानीय तहको निर्वाचन अगाडी नै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । थापाले ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

थापाको अवकासलगत्तै हुने स्थानीय चुनाव र त्यसपछिको शान्तिसुरक्षाको अवस्थालाई हेरेर नेपाल प्रहरीमा नयाँ आईजिपीको खोजी गर्ने तयारी गरिएको छ । ३० वैशाखमा हुन लागेको निर्वाचन भन्दा १० दिन अघि ०७९ वैशाख १९ मा उनी अवकाश जाँदैछन् ।

नेपाल प्रहरीमा अहिले आईजिपीको लाईनमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यसपछि उनी भावी महानिरीक्षकका एकल दावेदार भए। तर, नेकपा (एमाले)को अर्को समूहले असन्तुष्टि जनाएपछि सहकुल थापालाई पनि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गरियो। यो सँगै आइजिपीको लाईनमा दुई जनाको प्रतिस्पर्धा देखियो।

दुवै एआईजी हालको गठबन्धनका रोजाइका ब्यक्ति भने होइनन्। तर अहिलेसम्म विकल्प पनि छैन। विश्वराज पोख्रेलले इश्वर पोखरेलसँग नाता जोडेर एमाले नेतृत्वको पनि मन जिते। भर्ना भएदेखि नै खासै अगाडि आउन नसकेका उनी एसएसपीबाट अपत्यारिलो पारामा अगाडि लागे। डीआईजीमा पनि एकल बढुवा भए। हालका आईजीपी थापाको ब्याचका वैकल्पिक पोख्रेलले १० महिनापहिले भर्ना भएको टोलीलाई समेत उछिने।

अहिले कांग्रेससँग निकट रहेका पोख्रेल भावी आईजीपीका सबैभन्दा बलिया उम्मेदवार हुन्। उनी थापाभन्दा करिव एक वर्ष पहिले नै एआईजी भएकाले पनि उनको सम्भावना बलियो छ। तर सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्थाका कारण पोख्रेल नै निर्विकल्प भने होइनन्। भर्ना हुँदैदेखिका एक नम्बर डीआईजी धिरजप्रताप सिंह सम्भावित उम्मेदवार हुन्। उनी हाल डीआईजीमै छन्।

देउवा नेतृत्वको सरकारले विश्वराज र सहकुल थापाको विकल्प खोज्न एआईजीका ३ वटा पद थपेर वढुवा गर्ने तयारी थालेको छ। प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डिआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भयो । त्यसपछि वनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारको निर्णयले पछि परेकालाई अगाडि ल्याउने तयारी थालेको जनाईएको छ।

एआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । जानकारी अनुसार अब बस्ने मन्त्रिपिरषद्ले सो ओएण्डएम स्विकृत गर्ने तयारी छ ।

एआईजीको दरबन्दी थपेर प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह सहितका दाबेदारहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार धीरजप्रताप सिंहलाई एआईजी बनाएर शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुनले रोकेको छैन। प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ नियमावलीमा उल्लेख छ।

२०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षक वनेका सिंह कार्यकुसलताका हिसावले अब्बल प्रहरी अधिकृत हुन । नेताको स्वार्थ वाझिएका कारण पछि परेपनि उनी अरुभन्दा सिनियर पनि हुन । उनले हरेक पदमा रहँदा आफनो कार्यकुशलता प्रस्तुत गरेका छन् । एसएसपी हुँदा प्रहरीको मनोवल खस्किएको समयमा उनले प्रहरीको अपराध महाशाखाको कमाण्ड सम्हाले । त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन। ३३ किलो सुन प्रकरणमा दिवेश लोहनीसहित अन्य दुई प्रहरी अधिकारि पनि निलम्बनमै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए एसएसपी धिरज प्रताप सिंह। महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो।

घैंटे इन्काउण्टर पछि शान्त रहेका गुण्डा सलबलाउन थालिसकेका थिए। उपत्यकामा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठुलै चुनौती थियो। त्यसमाथि राजनीतिक आवरणमा गरिने अपराध झन भयावह थियो। केहि समय अगाडिमात्र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि दिनदहाडै गोलि हानि हत्या गरिएको थियो। जुन घटनाले व्यवसायी र सर्वसाधारण त्रसित थिए। त्यस्तो समयमा महाशाखालाई पुरानै पोजिसनमा उभ्याउनु राम्रै चुनौती थियो।

सिंह महाशाखामा रहँदा प्रहरीले ४ इन्काउण्टर गर्यो। जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए। ०७५ जेष्ठ २८ गते विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो । लामाले ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेका थिए ।

यसैगरी, ०७५ असार ७ गते लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। अमरले ०७५ जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर १९ लाख ६० हजार लुटेका थिए ।

०७५ साउन २० गते सिन्धुपाल्चोक मेलम्ची नपा–९ ज्यामिरे घर भई काठमाण्डौ –३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोट घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङसँग प्रहरीको मुडभेड भयो। ०७५ साउन २१ गते भक्तपुर सुर्यविनायक–८ पाईलट बाबाको आश्रम जाने बाटोको जंगलमा भएको उक्त मुडभेडमा उनीहरुको मृत्यु भयो।

यस्तै, ०७५ मंसिर २१ गते कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका सुनसरीको ईटहरी–५ घर भई काठमाण्डौ– २९, अनामनगर बस्ने ४६ वर्षिय राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो। लिम्बु घाईते भए।

सिंहको पहलमा भएका उल्लेखनीय घट्ना अन्य धेरै छन् । त्यस मध्येमा नेपाल निर्माण व्यवसायी महासँघका अध्यक्ष शरद कुमार गौचनको गौचन हत्यामा संलग्न र कनकमणी दीक्षितको हत्या गर्न खोज्ने अभियुक्तलाई पक्राउ गरेको घट्ना उल्लेखनिय छ।

वा १३ च ४९४८ नं. को गाडीमा सवार रहेका गौचनलाई ०७४ असोज २३ गते खरिबोटमा गोली प्रहार गरी हत्या गरेको घटनामा सलग्न रहेका काले भन्ने अम्वर बहादुर राना, लोप्साङ्ग लामा भन्ने सोम तामाङ्ग, काले दाह्री भन्ने रोशन वुढाथोकीलाई ०७५ कात्तिक १२ गते पक्राउ गर्यो । उनीहरुले कनकमणि दीक्षितको समेत हत्या योजना बनाएका थिए।

यस्तै, सिंहको पहलमा जनकपुर–३ घर भई काठमाण्डौ ४ पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालाई ०७५ असार ०९ गते चार करोड ८० लाख नगद, विभिन्न बैंकका एटिएम कार्डसहित पक्राउ गर्यो। सट्टेबाजीको आरोप लागेका उनलाई सम्पत्ति सुद्धिकरण समेको कसूरमा कारवाही गरियो।

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए ।

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गर्यो। बसुन्धरा स्थित रोहन गुरुङको घरमा बम बिष्फोट गर्ने बिष्फोट गराउने बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकसमेत पक्राउ परे।

महाशाखाले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामालाई ठमेलबाट पक्राउ गरी बिभिन्न राजनैतिक दबाबमा समेत छोड्न मानेका थिएनन । गुण्डा नाइके लामालाई छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएको कुराले चौतर्फी प्रसंसा बटुलेको थियो ।

गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एसके (सार्की) २४ घण्टा भित्र पक्राउ परे।