अबैध नेटवर्किङमा ठग्ने १२ भारतीय पक्राउ

प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
साइन ग्रुपका नाममा अवैध नेटवर्किङ व्यवसाय चलाइरहेका उनीहरूलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेकामा साइन ग्रुपको प्रमुख कार्यकारी निर्देशक बताउने नयाँदिल्ली घर भएका रसिद नसिम, भारतको इलाहबादका अजितकुमार सिंह र मोहमद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, गिरीश उपाध्याय र आयुष उपाध्याय, उत्तरप्रदेश घर भएका अशोक कुमार र रमेश रामा, उत्तर प्रदेशकै सुनिल उपाध्याय र कासिफ सकिल, बैंग्लोर घर भएका महेन्द्र सिंह र ठेगाना प्रस्ट नभएका भारतीय नागरिक गजेन्द्र कुमार छन्।
उनीहरूले नेटवर्क विस्तार गर्न भन्दै एक सय ७० जना भारतीयसहित करिब तीन सयलाई तालिम दिँदै थिए।
यो समूहले दुबईमा प्रधान कार्यालय तथा भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यालय रहेको बताउँदै पिरामिड शैलीको नेटवर्क व्यवसाय विस्तार गर्न खोजेको प्रहरीको दाबी छ। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।
अभिमुखीकरण शैलीको कार्यक्रममा १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र६ महिनापछि क्रेडिट कार्ड पाइने बताइएको थियो ।
आफ्नो खातामा २५ सय डलर जम्मा भएपछि प्रत्येक महिना ५ प्रतिशत र नयाँ सदस्य बढाउन सके १५ प्रतिशतसम्म कमिसन पाइने प्रलोभन देखाइएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले कम्पनीले बताएअनुसार दुबईमा मुख्यालय रहेको तथ्य झूटो रहेको बताए । कम्पनीको वेबसाइटमा पनि यसबारे भरपर्दो तथ्य भेटिँदैन ।
प्रहरीका अनुसार बाजुरा र ललितपुरको सातदोबाटो पनि घर भएको बताउने महेन्द्र सिंहले साइन ग्रुपको नेपाल कनेक्सनको काम गरेको देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिंहले नेटवर्क विस्तार गरेर लाखौं
कमाउन सकिने लोभ देखाएर सुदूरपश्चिमका धेरै मान्छेलाई ग्रुपको सदस्य बनाउने प्रक्रिया सुरु गरेका थिए।
प्रहरी परिसर काठमाडौंमा मात्रै यो समूहले नेटवर्क व्यवसायका नाममा १ करोड ६० लाख रुपैयाँ ठगी गरेको भन्दै तीन जनाले उजुरी दिएका छन् ।
कम्पनीको प्रमुख कार्यकारी निर्देशक बताउने रसिद नसिम यही कार्यक्रम गर्न तीन दिनअघि नै प्रतिदिन झन्डै दुई लाख पर्ने हयात होटलको प्रेसिडेन्सियल सुइट बुक गरेर बसेका थिए।
केही महिनाअघि मात्रै भारतको लखनउमा हाउजिङ कम्पनीको सुविधा दिने भन्दै रसिदले प्रचारप्रसार गरेको देखिन्छ।

