माओवादीका नेताको सम्पत्ति सार्वजनिक गर्न माग - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीका नेताको सम्पत्ति सार्वजनिक गर्न माग



काठमाडौं- नेकपा (माओवादी केन्द्र)बाट विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको छ।

पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग उठेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै सो माग गरिएको प्रतिनिधि बुद्धि जिसीले जानकारी दिए। लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सो माग उठेको हो।

यस्तै, सत्तामा गएकाहरुलाई तत्काल फिर्ता गर्न पनि माग गरिएको छ। कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले आफ्नो समूहबाट आएका सुझाव उदृत गर्दै भनिन, ‘सत्तामा गएकाहरुले भ्रष्ट आचरण गरे फिर्ता बोलाउनुपर्छ।’

फेरि उठ्यो विशेष महाधिवेशनको कुरा
भर्खरै महाधिवेशन गरिरहेको माओवादीमा विशेष महाधिवेशन गरेर भए पनि वैचारिक बहस गर्न माग गरेका छन्।

‘विशेष महाधिवेशन गरेर वैचारिक बहस गर्नुपर्छ’ नेता युवराज चौलागाईंले भने, ‘पार्टीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था विधानमै राख्न सुझाव आएको छ।’

पुस ११ गतेदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदन उपर २५ समूह बनाएर छलफल भएको हो।

११ समूहले बुधबारसम्म छलफलको निष्कर्ष पेश गरिसकेका छन् भने १४ समूहले बिहीबार प्रस्तुत गर्दै छन्।