नेता योगेशको काङ्ग्रेसमाथि कटाक्ष :औँसीको रातमा जन्मेकाले सधैँ अन्धकार देख्दोरहेछ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेता योगेशको काङ्ग्रेसमाथि कटाक्ष :औँसीको रातमा जन्मेकाले सधैँ अन्धकार देख्दोरहेछ



काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले एक वर्ष चुनौतीपूर्णरूपमा बितेको बताएका छन्। संसदमा जारी प्री–बजेट छलफलमा भाग लिँदै नेकपा नेतासमेत रहेका भट्टराईले अर्थतन्त्र अझै गम्भीर अवस्थामा रहेको बताए।

‘बितेको एक वर्ष चुनौतीपूर्णरूपमा बित्यो, अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत् गम्भीर प्रश्न उठाउनुभएको थियो। ती प्रश्नले आज पनि घच्घच्याइरहेका छन्,’ उनले भने, ‘आर्थिक विचलन देखिएका थिए। यसको सुधारमा अझै लाग्नुपर्ने आवश्यकता छ। यसमा म अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु।’ नेता भट्टराईले बोल्ने क्रममा काङ्ग्रेसमाथि कटाक्ष गर्न पनि भ्याए। उनले सुधारको सङ्केत देखिँदा पनि केही मानिसले अन्धकार देखेको उल्लेख गरे। ‘हाम्रो गाउँघरतिर अझै पनि आइतबार जन्मेकोलाई आइते र सोमबार जन्मेकालाई सोमे भन्छन्’, उनले भने, ‘त्यस्तै औँसीको रातमा जन्मेकाले यदाकदा सधैँ अन्धकार देख्दोरहेछ। हामी उज्यालोको खोजीमा छौँ, उज्यालोका लागि लडिरहेका छौँ।’

स्थानीय तहमा ४० हजार जनप्रतिनिधिले काम गरिहेका बताउँदै भट्टराईले अर्को वर्षबाट यसले नतिजा दिने विश्वास दिलाए। ‘राजनीतिक परिस्थिति अनुकूल भए पनि केही चुनौती छन्। हिजोकै शैलीहरू हाम्रा लागि चुनौती छन्। जबाफदेहिता लगायतका चुनौती छन्,’ उनले थपे,‘यी चुनौतीहरूलाई ख्याल गर्दै आगामी बजेट बनाउन जरुरी छ।’ नेता भट्टराईले राष्ट्रिय गौरवको योजनालाई लामो समयसम्म राखिरहन नहुनेमा जोड दिए। ‘कति वर्षसम्म राष्ट्रिय गौरवको योजना हुन्छ ?’, उनले भने, ‘अब सरकारले गेम चेन्जर आयोजनाहरू दिनुपर्छ। राष्ट्रिय गौरवका योजनाबारे पनि समीक्षा हुनु जरुरी छ।’