अब नेपालमा बस्ने सबै भारतीय नागरिकले विवरण दर्ता गराउनुपर्ने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

अब नेपालमा बस्ने सबै भारतीय नागरिकले विवरण दर्ता गराउनुपर्ने



काठमाडौं– अब नेपालमा बस्ने सबै भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकहरूलाई आफ्नो विवरण दर्ता गराउन सुचना जारी गरेको छ।

भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य रहेको बताएको छ। यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ।

दर्ताका लागि जाँदा राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति समेत लिएर जान अनिवार्य गरिएको छ।

नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई नेपालमा रोजगारी, सेवा वा अध्ययन गरिरहेको भए सम्बन्धित निकायबाट त्यसको पनि प्रमाण पेस गर्न भनिएको छ। साथै, नेपालमा बसोबास गरिरहेको ठेगानाको समेत प्रमाण मागिएको छ।

त्यसमा बिजुलीको बिल वा घरधनीबाट भाडामा बसिरहेको भन्ने जानकारी पत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। सेतो पर्दामा लिइएका दुईवटा पासपोर्ट साइजका फोटो अनिवार्य गरिएको दूतावासको सूचनामा उल्लेख छ।

भारतको विदेश मन्त्रालयले सन् २०२० मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा नेपालमा छ लाख भारतीय नागरिकहरू बसोबास गर्ने उल्लेख गरेको छ।

नेपालमा बसोबास गर्ने भारतीयहरू व्यापार, व्यवसाय तथा विभिन्न पेसा रोजगारीमा आबद्ध छन्। त्यसबाहेक ठूलो संख्यामा श्रमिकहरू भएको उक्त प्रतिवेदनमा उल्लेख छ।