महिनावारी हुँदा बाटो हिड्न नदिने नेपालकै यो कस्तो गाउँ ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

महिनावारी हुँदा बाटो हिड्न नदिने नेपालकै यो कस्तो गाउँ ?



काठमाडौं- सरकारले महिला हिंसा र कुसंस्कार अत्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँगाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ।

तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटपिट गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन बिष्टले लेखेका छन्।

बेलडाँडी गाउँपालिका १ टाइगर बस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खड्कामाथि हातपात रेका हुन्।

महिनावारीका बेला घरको बाटो हिँड्दा आँखा लागेर भैँसीले दूध नदिएको आरोप लगाउँदै शाहले कुटपिट गरेको पीडितहरुले बताएका छन्।

गीता र ईश्वरी देउरानी जेठानी हुन्। ‘मिन्स भएको बेला मेरो घरको बाटो किन हिँडेको भन्दै देउरानीलाई दलबहादुरले गाली गर्यो,’ धनगढीको नोभा अस्पतालमा उपचाररत ईश्वरीले भनिन्, ‘मैले तथानाम नबोल्नुस् भनेपछि हामी दिदी-बहिनीलाई नै कुटपिट गर्यो।’

दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।