काँग्रेसको आम सभा चैत २७ गतेदेखि बैशाख २ गतेसम्म हुने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

काँग्रेसको आम सभा चैत २७ गतेदेखि बैशाख २ गतेसम्म हुने



हिमाल पोष्ट / काठमाडौं  चैत २१ । नेपाली काँग्रेसले चैत २७ गतेदेखि बैशाख २ गतेसम्म देशका विभिन्न शहरहरुमा आम सभा गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलज्यूको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले चैत २७ गतेदेखि आमसभा सुरु गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समितिको निर्णयानुसार काँग्रेसले प्रदेश नं ७ को मुख्य शहर कैलालीमा पहिलो दिन आम शमा गर्ने निर्णय गरेको हो । त्यस्तैगरी, प्रदेश नं। ५ को मुख्य शहर दाङको तुलसीपुरमा चैत्र २८ गते, रुपन्देहीमा २९ गते र प्रदेश नं। ४ नंमा पर्ने पोखरा चैत्र ३० गते गर्ने निर्णय गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

त्यस्तै, प्रदेश नं। २मा पर्ने जनकपुरमा चैत्र ३१ गते र प्रदेश नं। १मा पर्ने झापामा २०७४ साल वैशाख २ गते आम सभा गर्ने निर्णय भएको छ । बैठकले प्रदेश नं। ३ र प्रदेश नं। ६ मा पर्ने शहरहरुमा भने कहिले आमसभा गर्ने भन्ने समय र स्थान समेत तोकेको छैन । यी दुई प्रदेशमा कार्यक्रम गरिने स्थान र मिति पछि तय गरिने नेपाली काँग्रेसले जनाएको छ । तर किन दुर्इ प्रदेशको मिति तय गरिएन भन्ने विषय भने खुलार्इएको छैन ।

निर्वाचन प्रचारप्रसार समिति अन्तर्गत् बैठकले आर्थिक स्रोत परिचालन समन्वय उपसमिति, प्रचार–प्रसार समन्वय उपसमिति, सुरक्षा समन्वय उपसमिति, मतदाता शिक्षा तथा सचेतना समन्वय उपसमिति, निर्वाचन अनुगमन समन्वय उपसमिति र निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय पनि काँग्रेसले गरेको छ ।

समितिले म‌ंगलबार २०७३ चैत्र २२ गते अपरान्ह १२ बजे नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, पूर्व सांसदहरु र दिउँसो ४ बजे शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुसँग पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

त्यस्तै पूर्व राजदूत, पूर्व प्रशासक र पूर्व सुरक्षा अधिकारीहरुसँग  चैत्र २३ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम तय गरेको पनि नेपाली काँग्रेसले जनाएको छ।