नारायणकाजी भन्छन: अब नेपालको युग नै परिवर्तन हुन्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नारायणकाजी भन्छन: अब नेपालको युग नै परिवर्तन हुन्छ



गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् ।

गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताए ।

प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताए । जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उनको भनाइ थियो ।

‘नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको मत दिएर सरकारमा पठाएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सबै पूरा गर्न सजिलो छैन ।’

उनले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने गरी योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अघि बढेको उल्लेख गरे ।

नयाँ संविधानले नागरिकको मौलिक अधिकारलाई संविधानमा लिपिबद्ध गरिसकेको भन्दै उनले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताए ।