नेपाली समाज मकाउको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दोर्जे तामाङ निर्विरोध - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

नेपाली समाज मकाउको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दोर्जे तामाङ निर्विरोध



कर्ण अधिकारी – नेपाली समाज मकाउको दोस्रो अधिवेशन ८ तारिख बुधबारका दिन इन्डियन गार्डेन रेस्टुरेन्टमा भव्यतासाथ सम्पन्न भएको छ। विदेशी भूमि मकाउमा कार्यरत नेपालीहरूको हकहित र स्वदेशमा पीडामा परेका दुःखीहरूको हितका लागि स्थापना भएको समाजले आफ्नो स्थापनाको पहिलो कार्यकालमा दोर्जे तामाङकै अध्यक्षतामा कार्य समिति चयन गरेको थियो भने दोस्रो कार्यकालमा पनि अध्यक्षमा पुन: दोर्जे तामाङलाई नै निर्विरोध चयन गरेको छ।

नयाँ कार्य समितिमा अध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष युवराज न्यौपाने, महासचिव दीपक कमल क्षेत्री, सचिव शेर बहादुर कोइराला, कोषाध्यक्ष निरञ्जन खड्का रहेको छ भने प्रवक्ता दामु पराजुली, युवा संयोजक वीरबहादुर क्षेत्री, महिला संयोजकमा सम्झना आचार्य(भुसाल) र शर्मिला बस्याल रहेको छन्। सदस्यहरूमा अच्युत बडाल, रमेश भुसाल र हेमसागर लामिछाने र मिङ्मार लामा रहेका छन्। त्यसैगरी कानुनी सल्लाहकारमा सेलिया चोङ्ग रहेका छन्। उक्त संस्थाको संरक्षकमा राजकपुर थपलिया रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि दीपक कमल क्षेत्री, विशेष अतिथिमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी, अतिथिहरूमा पश्चिमेली समाजका अध्यक्ष पदम सिंह पन्त, आर्य क्षेत्री समाजका अध्यक्ष निरञ्जन खड्का, राजन क्षेत्री, राजकपुर थपलिया रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले नयाँ कार्यसमितिका पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा विशेष अतिथि र अतिथिद्वय अम्बिर जोशी र राजन खत्रीले मकाउमा कार्यरत रही विभिन्न सामाजिक एवम् राजनैतिक सङ्घसंस्थामा आबद्ध भई नेपालीका हकहितका लागि कार्य गरेका कारण मायाको चिनोका साथमा समाजका अध्यक्ष दोर्जे तामाङको हातबाट सम्मान गरिएको थियो। कार्यक्रममा समाजका अध्यक्ष दोर्जे तामाङले आफूलाई समाजले पुन: एक पटक अध्यक्षमा निर्विरोध चयन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो दोस्रो कार्यकाल पनि राम्रोसँग सञ्चालन गरी सामाजिक कार्यमा गहन जिम्मेवारी वहन गर्ने कुरा व्यक्त गर्नु भएको छ। नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशनको सभापतिको आसन ग्रहण दोर्जे तामाङले गरेका थिए भने कार्यक्रम सञ्चालन युवराज न्यौपानेले गरेका थिए।