नेपाली महिलाको दिल्लीबाट उद्धार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली महिलाको दिल्लीबाट उद्धार



नयाँ दिल्ली 

भारतको राजधानी हुँदै तेश्रो  मुलुक पुर्‍याइएकी एक नेपाली महिलाको दिल्लीबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

३  महिना पहिले रोजगारीको बहानामा खाडी मुलुक कुवेत पुराइएकी बाँकेको टिटरीकी ४२  वर्षीय महिलालाई दिल्लीस्थित नेपाली दूतावास र महिला बेचविखनविरुद्ध काम गर्दै आएको संस्था केआई नेपालको सहकार्यमा उद्धार गरिएको हो ।

केआई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीका अनुसार कुवेतमा चरम यातनापछि मानसिक अवस्था बिग्रिएकी महिलालाई दिल्ली फिर्ता पठाएपछि विमानस्थलबाटै उद्धार गरी नेपाल पठाइएको हो ।

पीडित महिलाका अनुसार तीन महिना पहिला गाउँकै एक महिलाले सिमाना कटाएर दिल्ली पुर्‍याएको र त्यसपछि उनलाई कागजपत्रहरू बनाएर कुवेत पठाइएको थियो। कुवेतमा रहँदा आफूलाई मालिकले खाना पनि नदिएर चरम यातना दिएको र यातना सहन नसकेर काम छाडेपछि कुवेतमै रहेका दलालले पनि पटक-पटक कुटपिट गर्ने गरेको पीडित महिलाले बताइन ।

सोही क्रममा उनले मानसिक सन्तुलन गुमाएपछि दिल्लीको टिकट कटाएर फिर्ता पठाइएको थियो । दिल्लीको विमानस्थलस्थित इमिग्रेशन कार्यालयले नेपाली दूतावासमा महिलाबारे जानकारी गराएपछि दूतावासले महिलाको उद्धार गरी केआई नेपालको जिम्मा लगाएको थियो। त्यसपछि केआई नेपालले महिलाई सकुशल नेपाल पठाएको छ ।